हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड पूर्णरुपमा खुलेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुख्खा पहिरो सोमबार साँझ हटाएपछि सडक सुचारु भएको हो । यसअघि आइतबार बिहानबाट उक्त सडक खण्डमा डाइभर्सनमार्फत सडक सुचारु गरिएको थियो ।

शनिबार बिहान एक्कासी सडकमाथिबाट खसेको सुख्खा पहिरोले अवरुद्ध भएको सडक आइतबार र सोमबार दिनभर ३ वटा मेशिन प्रयोग गरेर सञ्चालनमा ल्याएको प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना हेटौँडाका आयोजना प्रमुख देवनारायण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो ।

सोमबार बिहानैबाट एक्स्काभेटर, जेसिबी र लोडर प्रयोग गरेर पुनः पहिरो हटाउने काम गरिएको थियो । बिहानैबाट पहिरो हटाउने काम थाले पनि पहिरो ठुलो र सडकको माथिबाट ढुंगा–माटो खस्ने क्रम नरोकिँदा सडक पूर्णरुपमा सञ्चालनमा ल्याउन लामो सयम कुर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । उक्त सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ ।