हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण संस्थाहरुलाई ७ दिनभित्र आवश्यक कागजात अद्यावधिक गरी पेश गर्न निर्देशन दिएको छ ।
सोमबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन विपरीत र अनुमति नलिई केही संस्था सञ्चालन भएको गुनासो आएपछि आवश्यक विवरण माग गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा तोकिएको म्यादभित्र कागजात नबुझाउने वा मापदण्ड नपुगे कारबाही हुने चेतावनी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित संस्थाहरुलाई शिक्षा मन्त्रालय वा प्रदेश सरकारको इजाजतपत्र, स्थानीय पालिकाको व्यवसाय दर्ता प्रमाणपत्र, कर विवरण, नवीकरण प्रमाणपत्र, भाषा प्रशिक्षक र परामर्शदातासँग गरिएको करार सम्झौता, घरभाडा सम्झौता, विदेशी प्रशिक्षक भए श्रम स्वीकृति तथा भिसा कागजात लगायतका प्रमाण पेस गर्न निर्देशन दिएको छ ।











