हेटौँडा । वर्षे विदापछि आज आइतबारबाट विद्यालयहरु सुचारु हुँदैछन् । साउन दोस्रो सातादेखि सामुदायिक तथा संस्थागत विद्यालयले ७ दिनदेखि १५ दिनसम्म वर्षे विदा दिएको थियो । मकवानपुरका अधिकांश विद्यालयमा वर्षे विदा दिइए पनि केही संस्थागत विद्यालयले भने नियमित पठनपाठन गरेका थिए ।
केही विद्यालयले माध्यमिक तहको पठनपाठन सुचारु राखेका थिए । वर्षे विदाअघि अधिकांश विद्यालयले प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो । वर्षे विदापछि विद्यालय खुलेसँगै प्रथम त्रैमासिक परीक्षाको नतीजा सार्वजनिक गर्ने र नियमित पठनपाठनको कार्य सुरु हुनेछ । साउन महिनाभर वर्षे विदा दिने गरिए पनि यस वर्ष भने गत बैशाख महिनामा शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएकोले साउन दोस्रो सातादेखि मात्रै सामुदायिक विद्यालयले वर्षे विदा दिएका थिए ।
बैशाखमा शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित हुँदा जेठपछि मात्रै विद्यालयमा पठनपाठन शुरु भएको थियो । शिक्षक आन्दोलनका कारण प्रभावित भएको पढाइको परिपूरणका लागि वर्षे विदा कटौती गरेर ढिलो बिदा दिइएको हेटौँडा उपमहानगरपालिकाका विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाले बताउनुभयो । यसले शिक्षक आन्दोलनले पारेको क्षति कम हुने आँकलन गरिएको पनि विद्यालय निरीक्षक सापकोटाले बताउनुभयो ।










