हेटौँडा : मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । बिहीबार र शुक्रबार ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बिहीबार बिहान ९ बजेर ३५ मिनेटको समयमा बिहान हेटौँडा–४, नारायणी मल पछाडिबाट लागूऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बा प्र ०३–००६ प २६४५ नम्बरको स्कुटरमा शंकास्पद अवस्थामा रहेका हेटौँडा–४, भैरबरोडका ३० वर्षीय विवेक खड्का र २६ वर्षीय सुशान्त मैनालीको साथबाट लागूऔषध खैरो हेरोइन बरामद गरेको जनाएको छ ।
प्रहरीले सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ७३० मिलिग्राम फेला पारेको छ । प्रहरीले मिलनचोकस्थित विवेक खड्काको घरबाट लागूऔषध खैरो हेरोइन २ ग्राम २५० मिलीग्राम र नगद ३ लाख १७ हजारसहित हेटौँडा–१० का ४२ वर्षीय सन्तोष कार्कीसमेत पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा हेटौँडा–२, शान्तिटोलमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ३ ग्राम २४० मिलिग्राम लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले ३८ वर्षीय ईश्वर अर्याल र हेटौँडा–४ बस्ने ३५ वर्षीय नविन बर्तौलालाई पक्राउ गरेको छ । यस्तै हेटौँडा–१० घर भई हाल हेटौँडा–५, सानोपोखरा बस्ने २४ वर्षीय राजीब मोक्तानको साथबाट लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार राती ८ बजेको समयमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका राजीबलाई सुरक्षाजाँच गर्दा उनको साथबाट लागूऔषध खैरो हेरोइन ५७० मिलिग्राम बरामद गरेको जनाएको छ । बरामद भएको लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान तथा कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।










