हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीस्थित बेतिनी स्वास्थ्य चौकीमा पर्सी शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । शिविर विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिनेश कुमार गुप्ताले जनकारी दिनुभयो ।
शिविरबाट बागमती गाउँपालिकाका वडा नं. ४, ६, ७, ८ र ९ का बासिन्दा बढी लाभान्वित हुने उहाँको भनाइ छ । झुरझुरेस्थित सामुदायिक आँखा केन्द्र र हेटौँडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा पालिकाले शिविर सञ्चालन गर्न लागेको हो । पालिकामा यसअघि पनि यस्ता शिविरहरु सञ्चालन भएको गुप्ताले बताउनु भयो । आँखा जाँचपछि मोतिविन्दुका विरामीहरुका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शल्यक्रिया गर्नु पर्ने विरामीको आवतजावत लगायत सम्पूर्ण उपचार खर्च पालिकाले व्यहोर्ने गुप्ताले बताउनुभयो । बागमती गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन हुन लागेको यो पहिलो शिविर हो ।











