हेटौँडा : बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय समिति सदस्य बहादुर सिंह लामा मंगलबर दिउँसो १२ बजेसम्म काठमाडौंमा थिए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव बहिष्कार गरेर अघि बढ्ने योजनासहित बहादुर समूह काठमाडौंस्थित आरम्भ होटलमा (युएन पार्कको विपरित स्थानमा) बहादुर टोली छलफलमा थिए ।
माग अनुसार मन्त्री नियुक्त गरे मात्र मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने तयारीमा रहेका लामा समुह बिहानैबाट सो होटलमा छलफलमा जुटेका थिए । दिउँसो करिब १२ बजेसम्म उनीहरु हेटौँडा जाने नजाने द्विविधामा थिए । केही प्रदेशसभा सदस्यहरु पार्टीको नीति, विधि र विधान अनुसार चल्नुपर्ने भन्दै हेटौँडा जानुपर्नेमा थिए भने केही प्रदेशसभा सदस्यहरु माग पूरा नभए मत नदिने अडानसहित काठमाडौंमै थिए ।
१४ जना प्रदेशसभा सदस्यको नेतृत्व गरेका लामा उक्त होटलमा छलफलमा थिए । मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसले साउन २४ मा नै ३ महले ह्वीप जारी गरेको थियो । ह्वीपसँगै पार्टीको स्पष्ट निर्देशन समेत मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिने भन्ने थियो । तर, माग अनुसार ३ मन्त्रीको नियुक्ति र सपथसहित अन्य निकायको नियुक्तिमा सम्मानजक हक माग्दै उनीहरु फ्लोर क्रस गर्ने तयारीमा थिए ।
उनीहरु पार्टीले कारवाही गरेपनि पार्टीको ह्वीप नमान्ने तयारीमा लागेर काठमाडौंमा नै बसेका थिए । पहिले मन्त्री बनाएर विश्वासको मत लिन उनीहरुले मुख्यमन्त्री बानियाँलाई प्रस्ताव गरेका थिए । तर, बानियाँले विश्वासको त लिएपछि छलफल गरेर मन्त्री बनाउने पक्षमा थिए । हेटौँडा रहेर बानियाँ विश्वासको मत लिने तयारीमा जुटेका बखत लामा समूह भने काठमाडौंमा रहेर आफ्ना मागमा बार्गेनिङमा थिए । उनीहरुको सर्त अनुसार बानियाँले काम नगरेको भन्दै विश्वासको मत नदिने अडानमा उनीहरु रहेका थिए ।
यता बानियाँ पक्षले संसदीय दलमा पदाधिकारी नियुक्त र अनुशासन समिति बनाएर विश्वासको मत लिने तयारीमा जटेका थिए । विश्वासको मत पाउने वा नपाउने द्विविधाका बीच बानियाँ विभिन्न विकल्पमा छलफलमा रहेका थिए । उनको विश्वासको मत पाउने अवस्था सो अवधिसम्म बनेको थिए ।
जब बज्यो बहादुरको फोनमा देउवाको घण्टी
१२ बजेसम्म आरम्भ होटलको बैठकमा रहेर हेटौंडा नजाने र विश्वासको मत नदिने पक्षमा रहेका बहादुरको फोनमा एकाएक कांग्रेस सभापतिको फोन आउँछ । सभापति देउवाका स्वकीय भानु देउवाको फोनबाट दिउँसो १२ः३० बजेको समयमा बहादुरको फोनको घण्टी बज्छ ।
सो फोनमा बहादुर र सभापति देउवा बीच वार्ता भएको प्रदेशसभा सदस्य गोविन्द लम्सालले जानकारी दिए । लम्सालका अनुसार सभापति देउवाले विश्वासको मत दिन निर्देशन गर्दा बहादुरले जवाफमा सहमतिको विषय उठाएका थिए । सहमति कार्यान्वयनको विषय आफ्नो भएको भन्दै सभापति देउवाले विश्वासको मत दिएर आउन भनेको लम्सालले बताए । सभापति देउवाको फोन सम्पर्क सक्किएको केही समयमा कांग्रेस नेता शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको फोन आउँछ । उक्त फोन वार्तामा पनि पार्टीका नेताहरुले सहमती कार्यान्वयनको विषयमा प्रतिवद्धता जनाएको प्रदेशसभा सदस्य लम्सालले बताए ।
प्रदेशसभा सदस्य उत्तम जोशीका अनुसार शिर्ष नेताहरुबाट प्रतिवद्धता आएपछि हेटौँडा आउने बाटो खुलेको बताए । त्यसअघि नै विश्वासको मत दिनु पर्ने र अनुशासन तोड्न नहुनेमा सबै प्रदेशसभा सदस्यहरु सकारात्मक रहेको उनको भनाई छ । शिर्ष नेताको फोनले आफ्नो समुहको सर्त सहमतिको स्वामित्व लिने अवस्था बनेकाले थप सहयोग भएको उनले बताए । सो फोन लगत्तै लामा समुह ७ वटा गाडीमा हेटौँडा झरेका थिए ।
करिव ३ बजेको समयमा उनीहरु फाखेल, कुलेखानी भीमफेदी हुँदै भैसे आइपुगेका थिए । भैंसेस्थित राप्ती खोला छेउको होटलमा करिव एक घण्टा बिताएका उनीहरु साँझ ५ बजेको आसपासमा मात्र प्रदेशसभा सचिवालय प्रवेश गरेका थिए । भैंसेस्थित होटलमा खाजा खाएर समय बिताएका उनीहरुले प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका थिए ।
१४ जनाको समुहको नेतृत्व गरेका लामाले आफ्ना मागहरु सम्बोधन हुने भएपछि विश्वासको मत दिने अवस्था बनेको बताएका थिए । प्रदेशसभा सचिवालय प्रवेश गरेर संसदीय दलको बैठकमा विश्वासको मत दिने निर्णय गरेका उनले माग अनुसारको विषयहरु सम्बोधनको प्रतिवद्धता पछि विश्वासको मत दिने परिस्थिती बनेको बताएका थिए ।











