हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला पूर्वमन्त्रीमन्त्री बहादुर सिंह लामा पक्ष काठमाडौँमै बसेर बार्गेनिङमा लाग्नु भएको छ । आफ्नो पक्षबाट तीन जना मन्त्री नियुक्त गरिनुपर्ने बटमलाइनमा रहेको पूर्वमुख्यमन्त्री लामा पक्षले सो माग पूरा नभएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नै नदिने अडान लिएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ४ गते प्रदेशसभाको बैठक बोलाइएको छ । तर, यो समाचार तयार पर्दासम्म पूर्वमुख्यमन्त्री बहादुर सिंह लामासहितका एक दर्जन सांसद काठमाडौँमै रहेका छन् ।

बहादुर पक्षीय सांसद कुन्दन काफ्लेले आफूहरू अहिले काठमाडौँमै रहेको बताउनुभयो । उहाँले आफूहरूको माग पूरा गराउनका लागि छलफल चलिरहेको भन्दै मुख्यमन्त्री इन्द्र बानियाँको कार्यशैलीमै प्रश्न रहेकाले अब के हुन्छ भन्ने उहाँमै भर पर्ने बताउनुभयो ।

‘हामी अहिले काठमाडौँमै छौँ । यो भन्दा बढी केही भन्नु छैन । छलफल होला, सहमति कार्यान्वयन होला’, उहाँले भन्नुभयो । लामा पक्षकै एकाध सांसद भने हेटौँडा पुगेपनि अधिकांश भने काठमाडौँमै रहेको अर्का एक सांसदले बताउनुभयो ।

लामाले आफू पक्षका तीन सांसदलाई मन्त्री बनाउन भनेपनि बानियाँले त्यसमा असहमति राख्दा समस्या भएको हो भने विश्वासको मत जुटाउनै बानियाँलाई सकस परेको हो ।

उसो त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बानियाँलाई विश्वासको मत दिन भन्दै समूहलाई निर्देशन दिनुभएको छ ।

देउवाले आफूलाई भेट्न आएका लामा समूहका सांसद गोविन्द लम्सालसहितका सांसदलाई विश्वासको मत दिन निर्देशन दिँदै त्यसपछि मन्त्री नियुक्त गर्न आफूले बानियाँलाई भन्ने बताउनुभएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको हो ।

११० सदस्यीय प्रदेशसभामा बहुमत पाउन ५६ सांसदले बानियाँलाई विश्वासको मत दिनुपर्छ। कांग्रेसका ३७ र एमालेका २७ गरी उनका पक्षमा ६४ सांसद हुनुपर्ने हो । तर, लामाको समूहमा १४ सांसद छन् । उनीहरूले विश्वासको मत नदिएमा बहुमत पाउन सक्ने अवस्था छैन ।

यस्तै बानियाँलाई समेत देउवाले लामाको माग पूरा गर्न निर्देशन दिइसकेका छन् । देउवाको निर्देशनका बिच पनि हालसम्म सहमति नजुटेको हो ।