मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गर्नुभएका बानियाँले विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेकाले मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो ।

साउन २० मा कांग्रेस–एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका बानियाँलाई सरकार जोगाउन ५६ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ । साउन २४ गते सूचना जारी गर्दै दुवै पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न र दिउँसो १ बजे नै प्रदेशसभामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको थियो । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकीपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

यसैबीच बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय भएको छ । सोमबार अपरान्ह ४ बजे बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावलाई अघि बढाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालयमा दर्ता गराएको साउन २७ मा विश्वासको मत लिने सम्बन्धी प्रस्तावलाई प्रक्रियागत रुपमा अघि बढाएर निर्णयार्थ पेश गर्ने निर्णय भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभएको छ । साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री बानियाँले दर्ता गराउनुभएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने र सो पश्चात प्रक्रियागत रुपमा मत विभाजनको कार्यक्रम अघि बढाइने उहाँले बताउनुभयो ।

विश्वासको मत प्रस्तुत गर्नुअघि प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताहरुले सम्बोधन गर्ने कार्यसूचि रहेको उहाँको भनाई छ । उक्त समयमा दलगत रुपमा नेताहरुले प्रदेशको समयसामयिक राजनीति, सामाजिक तथा आर्थिक लगायतका विषयमा धारणा राख्नेछन् ।