हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुलाई ह्वीप जारी गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी भएको हो ।
शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्य सचिव मीनकृष्ण महर्जनले एक सूचना सम्प्रेषण गर्दै साउन २७ गते मुख्यमन्त्री बानियाँको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्नुभएको हो । उहाँले प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव माथि तटस्थ नरहन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो । शनिबार नै बसेको कांग्रेस दलको कार्यसमितिको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेअनुसार सदस्य सचिव महर्जनले ह्वीप सम्बन्धी सूचना सम्प्रेषण गर्नुभएको हो ।
साउन २७ मा कांग्रेसका प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौँडामा उपस्थितिका लागि निर्देशन गरिएको छ । मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आव्हान गरेको छ ।











