हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सरकारी गाडी दुरुपयोग गरेको विषयमा प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण भएको छ । बुधबार प्रधानमन्त्री कार्यालयको गुनासो व्यवस्थापन शाखाबाट सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर दुरुपयोग गरेको भन्ने विषयमा हेटौँडा उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्रधानमन्त्री कार्यालयबाट सरकारी सवारी साधन दुरुपयोग भएको भन्ने सम्बन्धमा उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र प्राप्त भएको पुष्टि गर्नुभयो । ‘प्रधानमन्त्रीको कार्यालयबाट सरकारी गाडी दुरुपयोग भएको भनी पत्र आएको छ । हामी आगामी साता सरकारी नम्बर प्लेट राख्ने प्रक्रिया सुरु गर्छौ’, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो ।
ना १९ च ३७९६ नम्बरको हेटौँडा उपमहानगरपालिकाको स्वामित्वको कार नगरप्रमुख लामाले निजी नम्बर प्लेटमा चढिरहनुभएको छ । कानून पालना गराउनुपर्ने नगरप्रमुखले नै कानूनविपरित हुने, अधिकारको दुरुपयोग गरिरहेको भन्ने समाचार असार ५ गते सार्वजनिक भएपछि निरन्तर आलोचना भए पनि उक्त कारमा सरकारी नम्बर प्लेट लगाउनतर्फ नगरप्रमुख र हेटौँडा उपमहानगरपालिकाको कार्यालयको ध्यान पुगेको थिएन । नगरप्रमुख लामाले नै सरकारी साधनको दुरुपयोग गरिरहँदा अन्य कर्मचारी तथा पदाधिकारीबाट पनि सरकारी सवारी साधन निजी नम्बर प्लेटमा दुरुपयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गौतम स्वीकार्नुहुन्छ ।
