Home मुख्य समाचार जग्गा दर्तासम्बन्धी अनधिकृत सिफारिसको विषयमा अख्तियारले अनुसन्धान थाल्यो

जग्गा दर्तासम्बन्धी अनधिकृत सिफारिसको विषयमा अख्तियारले अनुसन्धान थाल्यो

हेटौँडा : हेटौँडा उपमहानगरपालिका १ नम्बर वडाध्यक्ष सविन न्यौपानेले वदनियतपूर्ण तरिकाबाट जग्गा दर्ताको सिफारिस गरेको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । वडाध्यक्ष न्यौपानेले रैती लिखतकै भरमा काठमाडौं निवासी मनोज राणाको आमा विजया राणाको नाममा दर्ता हुनुपर्ने जग्गा अनधिकृतरुपमा वारेसमार्फत तेस्रो पक्षलाई बिक्री गरिएको र सो जग्गा दर्ता गराउन भनी मालपोत कार्यालय मकवानपुरलाई लेखेको पत्रका विषयमा अख्तियारले अनुसन्धान थालेको हो ।

वडाध्यक्ष न्यौपानेले वदनियतपूर्वक जग्गा दर्ताका लागि सिफारिस गरेको भन्ने समाचार सञ्चार माध्यममा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको एक अधिकारीले जनाए । यस किसिमको अख्तियार दुरुपयोगको घटनामा के कसरी अनुसन्धान गर्ने भन्ने विषयमा आयोगको स्क्रिनिङ समितिमा पठाइएको छ । उक्त समितिले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सिफारिस गरेपछि आयोगको हेटौँडास्थित कार्यालयले थप कार्य अगाडि बढाउने ती अधिकारीको भनाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवको संयोजकत्वमा स्क्रिनिङ समिति रहन्छ । उक्त समितिले अनुसन्धान तथा अभियोजनका आधारहरु अध्ययन गरी थप कारवाहीको प्रक्रिया अगाडि बढाउन हेटौँडास्थित कार्यालयलाई निर्देशन दिनेछ । वडाध्यक्ष न्यौपानेले वदनियतपूर्ण तरिकाबाट काठमाडौं–११ की स्वर्गीय विजया राणाको नाममा रहेको रैती लिखतका आधारमा विजया राणाका छोरा मनोज राणाको नाममा दर्ता हुनुपर्ने जग्गा वारेसको मागबमोजिम तेस्रो पक्षलाई विक्री गर्ने गरी वडाले एकैदिन १८ जनाको नाममा सिफारिस लेखेको छ । वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा जग्गा दर्ता गरिदिन मालपोत कार्यालय मकवानपुरलाई सिफारिस लेखेको छ भने २०८१ साल पुस १६ गते थप ६ जनाको नाममा जग्गा दर्ता गर्न वडाले सिफारिस गरेको छ ।

वडाध्यक्ष न्यौपानेले भने मनोज राणाको वारेसको मागअनुसार जग्गा दर्ता गर्ने विषयमा आवश्यक कार्य गर्न मालपोत कार्यालय मकवानपुरलाई सामान्य सिफारिस मात्रै लेखेको जीकिर गर्नुभएको छ । उपमहानगरपालिकाका कानूनी सल्लाहकारसँग आवश्यक परामर्श गरेर जग्गा दर्ताका लागि सिफारिस लेख्न सकिन्छ भन्ने रायअनुसार नै आफूले सिफारिस दिएको पनि वडाध्यक्ष न्यौपानेको भनाइ छ । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सचिव समेत रहनुभएका वडाध्यक्ष न्यौपाने उपमहानगरकै प्रवक्ता समेत हुनुहुन्छ । वडाध्यक्ष न्यौपानेले जग्गा दर्ताका लागि गर्नुभएको सिफारिसको विषयमा नेपाली काँग्रेसले पनि आवश्यक अध्ययन गरिरहेको बताइएको छ ।

Exit mobile version