Home मुख्य समाचार कक्षा १२ को नतिजा विश्लेषण

कक्षा १२ को नतिजा विश्लेषण

१. राष्ट्रिय परीक्षा बोर्डले मिति २०८२ साल बैशाख २१ गतेबाट सुरु भई जेठ २ गते सम्पन्न कक्षा १२ को नतिजा यहि श्रावण १९ गते साँझ प्रकाशन गरेको छ । गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको यो नतिजामा प्रदेशगत विस्तृत विवरण बाहिर ल्याइएको छैन । त्यस्तै सामुदायिक र संस्थागत स्कूलहरुको भिन्न विवरण पनि देखाइएको छैन । विषयगत विवरणको अपेक्षा अझै टाढा रहेको देखिन्छ । तयारी अझै पनि फितलो र हतार अलि बढि नै गरिएको नतिजा प्रकाशनलाई बोर्डले औपचारिकतामा कस्न खोजेको स्पष्ट बुझ्न सकिन्छ । उक्त नतिजामा साधारण र प्राविधिक धारतर्फका अलग–अलग नतिजा दिन सकेको भए थप स्पष्ट हुने थियो ।

परीक्षा सकिएको ८० दिनमै नतिजा दिने काम परीक्षा बोर्डको प्रशंसनीय पक्ष भन्नै पर्दछ । यो पनि संयोग नै भन्नुपर्ला, एसईई अर्थात कक्षा १० र एसएलसी अर्थात कक्षा १२ को नतिजामा क्रमशः ६१.८१ र ६१.१७ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । यद्यपि परिक्षार्थीहरु अनुत्तिर्ण नै नहुने स्थिति उत्तम नतिजा हो तर फेल नै नहुने परीक्षाको कल्पना गर्न कठिन र जटिल महसुस गरिएको छ । एकाध परीक्षार्थीहरु पछाडि पर्नुलाई अन्यथा नमान्न सकिन्छ । हाम्रो सन्दर्भमा भने ६० प्रतिशत भन्दा बढि विद्यार्थीहरु ग्रेडेड हुँदा हर्षको बाढि नै आएको छ । यो संख्यात्मक पक्ष हो । खासगरी शिक्षामा संख्यात्मकसँगै गुणात्मक पक्ष शक्तिशाली मान्ने गरिन्छ ।

२. राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष परीक्षामा नियमित तर्फ ३ लाख ९६ हजार ३४७ जना र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना समेत गरी जम्मा ५ लाख १० हजार ९८७ जना विद्यार्थीहरुले जापानको १ समेत देशभरका कुल १ हजार ५ सय ९१ परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएका थिए । गत वर्ष ३ लाख ९० हजार ८६८ जनाले परीक्षा आवेदन फारम भरेकोमा ३ लाख ८५ हजार २३६ जना परीक्षामा सहभागी भएको बोर्डको नतिजामा उल्लेख गरिएको थियो । गत वर्ष भन्दा यस वर्ष ५ हजार ४७९ जना मात्र विद्यार्थी बढेको तथ्याङ्कले देखाएको छ । यस वर्ष नियमिततर्फ २ लाख ४२ हजार ४६५ जना अर्थात ६१.१७ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भई विश्वविद्यालयस्तरको अध्ययनका लागि योग्य भएका छन् ।

नियमिततर्फका १ लाख ५३ हजार ८८२ जना विद्यार्थीहरु नन–ग्रेडेड देखिन्छन् । यहि नन–ग्रेडेड संख्या भित्र मौका परीक्षा दिन पाउने संख्या पनि समावेश भएको छ । सैद्धान्तिक विषयहरुमा बढिमा २ विषयसम्म नन–ग्रेडेड हुनेहरु मौका परीक्षामा सहभागी बन्न सक्नेछन् । त्यस्तै आंशिक तर्फ भने मात्र ४१ हजार ८४० जना अर्थात ३६.४९ प्रतिशत विद्यार्थीहरु स्नातक तहमा भर्नाका लागि योग्य भएका छन् । आंशिक वा ग्रेडवृद्धि तर्फका विद्यार्थीहरुको नतिजाले थप चिन्ता प्रवाह गरेको छ । यो झनै बढि हुनु पर्नेमा धेरै तल झरेको देखिन्छ । नियमिततर्फ ११ जना र आंशिक तर्फका ६ जना गरी जम्मा १७ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

३. यस वर्ष कक्षा १२ को नियमित तर्फको नतिजामा ३.६१ देखि ४.० जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १३ हजार ५०२ अर्थात ३.४ प्रतिशत रहेको छ । गत वर्ष यो संख्या मात्र ९ हजार ५९१ अर्थात् २.४९ प्रतिशत मात्र थियो । यो वर्ष यस समूहमा ०.९१ प्रतिशतले बृद्धि भएको देखिन्छ । त्यस्तै ३.२१ देखि ३.६० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ५५ हजार ८९६ जना अर्थात १४.१ प्रतिशत देखिन्छ । गत वर्षको नतिजामा यो समूहमा ४६,८९३ जना अर्थात १२.१७ प्रतिशत मात्र थिए । यो पनि गतको भन्दा १.९३ प्रतिशतले बृद्धि भएको छ । यस वर्षको नियमित नतिजामा २.८१ देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीहरु सबैभन्दा बढि ९४ हजार २६८ जना अर्थात २३.७८ प्रतिशत रहेका छन् ।

गत वर्ष यहि समूहमा ७८ हजार ०७५ जना अर्थात २०.२७ प्रतिशत रहेका थिए । यो संख्यामा ३.५१ प्रतिशतले बृद्धि भएको देखिन्छ । त्यसैगरी २.४१ देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ६९ हजार ८१२ जना अर्थात १७.६१ प्रतिशत रहेका छन् । गत वर्ष यो संख्या ६१ हजार ३६ जना अर्थात १५.८४ प्रतिशत उल्लेख गरिएको थियो । यस वर्ष यो समूहमा पनि १.७७ प्रतिशत नतिजा बृद्धि भएको देखिन्छ । ग्रेडेडको पुछार २.०१ देखि २.४० सम्म जिपिए ल्याउने विद्यार्थीहरु ८ हजार ९६४ जना अर्थात २.२६ प्रतिशत रहेका छन् । यसै समूहमा गत वर्ष ८ हजार २४० जना अर्थात् २.१४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका थिए । यसमा पनि गत वर्षको भन्दा ०.१२ प्रतिशतले नतिजामा वृद्धि भएको सहजै देख्न सकिन्छ ।

४. कक्षा १२ का नियमिततर्फ २ लाख ४२ हजार ४६५ जना र आंशिकतर्फ ४१ हजार ८४० जना गरी जम्मा २ लाख ८४ हजार ३०५ जना विद्यार्थीहरु ग्रेडेड भई विश्वविद्यालयस्तरको शिक्षा हासिलका लागि योग्य भएका छन् । नियमिततर्फका १ लाख ५३ हजार ८८२ जना र आंशिक तर्फका ७२ हजार ६०० जना गरी जम्मा २ लाख २६ हजार ४८२ जना नन–ग्रेडेड विद्यार्थीको संख्या देखिन्छ । यो संख्या जम्मा परीक्षार्थी ५ लाख १० हजार ९८७ जनाको ४४.३२ प्रतिशत देखिन्छ र समग्रमा कक्षा १२ को नतिजामा ५५.६८ प्रतिशत मात्र ग्रेडेड हुन आउँछ । नन–ग्रेडेड मध्ये मौका परीक्षाबाट ग्रेडेड भई यसै वर्ष स्नातक तहमा भर्ना हुने संख्या पनि अनुमान गर्नका लागि विगतका मौका परीक्षाको आधार लिन सकिन्छ । यो नतिजामा ग्रेडेड भएका विद्यार्थीहरु करिब ३ लाखमध्ये हाम्रा कलेजमा प्रवेश गर्नेहरुको संख्या विवरण लिनका लागि भर्ना समय पश्चात कलेजहरुसँग तथ्याङ्क लिन सकिन्छ ।

करिब १ लाख विद्यार्थीहरु बैदेशिक अध्ययनका लागि वर्षेनी बाहिरिने गरेको भनिएको छ । यस्तो संख्यात्मक विवरण यकिन गर्ने र त्यस्का कारणहरु संकलन गरी समाधान तर्फ समयमै पहल नगर्ने हो भने यो युवा शक्ति पलायन मुलुकका लागि गम्भिर क्षति पुग्न सक्छ । नो–अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिने सबै विद्यार्थीहरु अध्ययनका लागि मात्र नभई रोजगारसँग समेत जोडिएको बुझिन्छ । बिदेशिएका विद्यार्थीहरुमध्ये करिब ३० प्रतिशत मुस्किलले फर्केको र स्वदेशमा रहेर सहज जीवनयापनमा कठिनाई महसुस गरी त्यस मध्ये पनि आधाजसो उतै फर्किएको विश्लेषण गरिएको छ ।

५. अन्तमा, यस वर्ष एसईई र एसएलसी दुबैको नतिजा विगत भन्दा राम्रो हुनुलाई सकारात्मक भन्नै पर्दछ । यो संख्यात्मक भन्दा पनि अझ गुणात्मक तहमा वृद्धि हुनु पर्दछ । नतिजाको स्तर बढ्दै जानुपर्छ । आगामी वर्षहरुमा थप स्तरीय र धेरै विद्यार्थी ग्रेडेड हामी सबैको अपेक्षा हो । यस मुलुकको समृद्धिका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको आधार निश्चय नै स्तरयुक्त विद्यार्थीहरु जो विद्यालय शिक्षाबाट ग्रेडेड भई विश्वविद्यालयस्तरका खोज अनुसन्धानका क्षेत्रमा समेत अब्बल सावित हुनु हो । नन–ग्रेडेड भएका विद्यार्थीहरुले पनि आफ्नो मनोबल उच्च बनाएर असफलताले सफलताको मार्ग झनै स्पष्ट बनाउने कुरो आत्मसाथ गर्नुपर्दछ । दुनियाँका सफल र महान व्यक्तिहरुले अनेकौं पटक असफलताको सामना गरेर नै उच्च शिखरमा पुग्न समर्थ भएका हुन् । सरकारले पनि सम्वद्ध शिक्षकहरुका समस्याहरु हल गरी अध्ययन अध्यापनका लागि प्रोत्साहित गरेर मात्र स्तरीय नतिजा हासिल गर्न सकिने तथ्यलाई गम्भिरतासाथ ग्रहण गर्नै पर्दछ । सरकारका अतिरिक्त शिक्षक, विद्यार्थी र अभिभावक समेत आम सरोकारवालाबाट आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने स्तरयुक्त नतिजा हासिलका लागि वर्षौंको प्रतिक्षा जरुरी पर्ने छैन ।