ज्ञापनपत्र बुझाउँदै ।

हेटौँंडा : नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत् सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत् सेवाग्राहीलाई अनावश्यक सास्ती नदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघले हेटौँडा सामुदायिक आँखा अस्पताललाई प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै मंगलबार स्वास्थ्य बीमा बोर्डको हेटौँडास्थित कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

स्वास्थ्य बीमा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख नरबहादुर खड्कासमक्ष ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष काजीमान तितुङले जानकारी दिनुभयो । ज्ञापनपत्रमा साउन १ गतेदेखि लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा बिन्दु हेटौँडा अस्पतालबाट रिफर लिई हेटौँडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यताले झन्झट दिलाएको संघको भनाइ छ । आँखा अस्पताललाई पनि प्रथम बिन्दु मानेर नै स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनुपर्ने मागसमेत संघको छ ।

स्वास्थ्य बीमा बोर्डको निर्णयले हेटौँडा अस्पतालमा हुने बिरामीको चाप अनावश्यक थपिएको र टोकन सिस्टमले झनै ढिलाई हुने गरेकाले पनि उक्त निर्णय फेर्नुपर्ने माग राखेको छ । यस्तै हेटौँडा अस्पताल र हेटौँडा सामुदायिक आँखा अस्पतालबीचको बीमासम्बन्धी विवाद अन्त्य गर्नुपर्नेलगायतका माग ज्ञापनपत्रमा समावेश गरिएको छ । दुई अस्पतालको विवादले सेवाग्राहीहरुलाई कागजी प्रक्रिया नपुगेको भन्दै बीमामार्फत् उपचार गर्न सास्ती दिने गरेको पनि अध्यक्ष तितुङले बताउनुभयो ।

स्वास्थ्य बीमाको उद्देश्य सर्वसाधारणलाई सुलभ र सहज ढंगले सेवा दिनु भएपनि बोर्डको पछिल्लो निर्णयले सर्वसाधारणलाई झनै सास्ती दिएको अध्यक्ष तितुङले दावी गर्नुभयो । आफ्ना मागहरुको सुनुवाई नभए आगामी दिनमा चरणबद्ध संघर्षका कार्यक्रमहरु तय गरिनेसमेत संघले जनाएको छ ।