अधिकांश विद्यालयमा यतिबेला चालु शैक्षिक वर्ष २०८२ को प्रथम त्रैमासिक परीक्षा सकिएको छ । संस्थागत विद्यालयहरुले आ–आफ्नो वार्षिक क्यालेन्डर अनुसार ७ दिनदेखि १० दिनसम्म विदा दिएका छन् भने सामुदायिक विद्यालयहरुले पालिका अनुसार २० दिनदेखि ३० दिनसम्म विदा उपलब्ध गराएका छन् । तापनि हरेक विद्यालयहरुले आधारभूत तहको कक्षा ८ र मावि तहको कक्षा १० का विद्यार्थीहरुको कक्षा भने निरन्तर संचालन गरिरहेका छन् । जसलाई कोचिङ क्लासको नामले चिनिन्छ । यस किसिमको विदा सरकारले नै छुट्याइदिएको विदा (वर्षे विदा) हो । अब प्रश्न उठ्छ यो विदाको सदुपयोग कसरी गर्ने र गराउने ? यसमा सरोकारवाला पक्षको ध्यान पुग्नु पर्छ र यस बारेमा छलफल चलाउने र सुझाव संकलन गर्नु पर्छ । यस वेलाको विदाको उपयोग कसरी गर्दा सबैलाई हित हुन्छ भन्ने सन्दर्भमा तल विभिन्न विचार र दायित्वको बारेमा छोटकरीमा लेख्ने प्रयास गरिएको छ ।
विद्यार्थी स्वयम्ले गर्नुपर्ने :
अब विद्यालयमा लामो छुट्टी हुँदैछ भन्ने थाहा पाउने बित्तिकै सबै विद्यार्थीहरुमा दिनचर्या कसरी बिताउने भन्ने प्रश्न अगाडि आउँछ । अधिकांश विद्यार्थीहरु विदा भएपछि खुसी हुने, रमाउने गर्छन् । आजभोलि विद्यार्थीका अभिभावकहरुलाई पठनपाठन सम्बन्धमा बोलाएर छलफल गर्दा प्रत्येक आमा बुवाको धारणा एउटै आउँछ घरमा मोबाइल हेरेर र टिभी हेरेर हैरान पारे, पढ्न लेख्न रुचि नै राख्दैनन्, भनेको मान्दैनन्, शिक्षकले दिएको गृहकार्य गर्दैनन् भनेर गुनासो गर्नुहुन्छ । स्कूल समयबाहेक विहान बेलुका पनि अतिरिक्त कक्षा पढाइ दिनु पर्यो भन्ने धेरै अभिभावकको गुनासो सुनिन्छ । तर विद्यार्थी स्वयम् भने आफ्नो विदामा नयाँ ठाउँ घुम्न जान, मनोरञ्जन गर्न र आफ्नो अभिभावक (आमा–बुवा) सँग रमाउन र खुसी साटासाट गर्न मन पराउँछन् । यो बानी राम्रो पनि हो । त्यसैले विद्यार्थीहरुले गुरुको, अभिभावकको र मान्यजनको सल्लाह र सुझाव मान्नुपर्छ । मोबाइल हेर्ने, गेम खेल्ने र टिभिमा अनावश्यक सामग्री हेरेर समय बर्बाद गर्नु हुँदैन ।
अभिभावकले के गर्ने ?
आजभोलि हरेक विद्यालयले वार्षिक क्यालेण्डर विद्यार्थीको हातहातमा उपलब्ध गराएको हुन्छ । त्यस कुराको जानकारी अभिभावकले राख्नुपर्छ र सोही अनुसार आफ्ना छोराछोरीलाई समय निकाल्नु पर्छ । जस्तो कि स–साना बालबालिकाहरु खेल्न रुचि राख्नछन् । त्यसैले उनीहरुसँगै बसेर घरभित्र खेलिने खेलहरु लुडो, क्यारमबोर्ड तथा सामान्य ज्ञान सम्बन्धी प्रश्नोत्तर गरेर समयको सदुपयोग गर्न सकिन्छ । त्यसैगरी उनीहरुलाई घरदेखि नजिकका पार्कहरु, मनोरञ्जन स्थलहरुमा लान सकिन्छ । १०–१२ वर्ष भन्दा बढी उमेरका बालबालिकाहरुलाई आफ्नो करेसाबारीमा फूल रोप्न, गोडमेल गर्न तथा भान्छाको काममा सहयोग गर्न लगाउन सकिन्छ । आफ्नो व्यक्तिगत सरसफाई गर्न आफ्नो लुगा धुन सिकाउन सकिन्छ ।
त्यसैगरी विदाको समयमा आफ्नो इष्टमित्र, नातेदारहरु कहाँ लगेर भेटघाट गरी परिचय गराउने काम पनि अभिभावकले गर्न सक्नुपर्छ । यसले गर्दा उनीहरुमा आफ्नो नजिकका नातेदारहरुसँग घुलमिल हुन र आफ्नो भावना व्यक्त गर्न सक्ने हुन्छन् । अर्को कुरा भनेको शिक्षित आमा बुबाले आफ्ना छोराछोरीलाई आफ्नो समाजमा बसोेबास गर्ने विभिन्न जातजाति र भेषभूषाको सम्बन्धमा भन्ने र लेख्न लगाउने । उनीहरुले मान्ने धर्म तथा रीतिरिवाज बारे बुझ्न लगाउन पनि सकिन्छ ।
बाल क्लबले के गर्ने ?
अहिले हाम्रो हेटौँडाका १९ वटै वडाहरुमा बाल क्लब र बाल सञ्जाल गठन भई कार्यरत छन् । सबै टोलहरुमा टोल विकास संस्था रहेको छ । यस्ता क्लब र संस्थाहरुले पनि बालिकाहरुको बीचमा विभिन्न प्रतियोेगिताहरु जस्तै वक्तृत्वकला, चित्रकला, कविता लेखन, गराएर पुरस्कृत गर्ने । त्यसैगरी ५–१० वर्षका बालबालिकाहरुको बीचमा नृत्य प्रस्तुत गर्न सकिन्छ ।
(अधिकारी हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।)










