हेटौंडा : एसईई ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि मकवानपुर जिल्लामा ८ वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्लाको चारवटा पालिकाका ८ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको हो ।

मकवानपुर जिल्लाबाट करिब ३ हजार ११५ जना विद्यार्थीले पूरक परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरकी अधिकृत संगीता घलेले जानकारी दिनुभयो । एसईई पूरक परीक्षाका लागि यस वर्ष हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका र थाहा नगरपालिका गरी चार पालिकाको ८ वटा विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकामा रहेको सिद्धार्थ मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, भुटनदेवी मावि र बालजागृति (अंग्रेजी) माविलाई केन्द्र निर्धारण गरिएको छ । बकैया गाउँपालिकाको बुद्ध मावि, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी मावि र थाहा नगरपालिकाको जनकल्याण माविलाई परीक्षा केन्द्र तोकिएको छ ।

राक्सिराङ गाउँपालिकाका विद्यार्थीले मनहरीको रोटरी माविबाट परीक्षा दिनेछन् भने गढी गाउँपालिकाका विद्यार्थीले हेटांैडाका विद्यालयबाट परीक्षा दिनेछन् । यस्तै, भीमफेदी गाउँपालिकाका विद्यार्थीले हेटौंडाका केन्द्रबाट परीक्षा दिनेछन् । थाहा नगरपालिकाका विद्यार्थीले थाहाबाटै परीक्षा दिनेछन् भने कैलाशका विद्यार्थीले थाहा र मनहरी गाउँपालिकाको केन्द्रबाट परीक्षा दिनेछन् । बागमती र बकैया गाउँपालिका विद्यार्थीले बकैयामा रहेको केन्द्रबाट परीक्षा दिनेछन् ।

पालिकाको विद्यालयहरूबाट पायक पर्ने स्थानका विद्यालयहरूमा केन्द्र तोकिएको अधिकृत घलेले जानकारी दिनुभयो । मकवानपुर जिल्लाभित्र रहेको १३२ वटा माविबाट २०८१ सालको एसईई परीक्षामा ३ हजार ११५ जना विद्यार्थीको नतिजा ननग्रेडेड आएको थियो । ननग्रेडेड भएका प्रायः सबै विद्यार्थीले परीक्षाका लागि आवेदन दिएको उहाँले बताउनुभयो । ग्रेडवृद्धि परीक्षा साउन २९ गतेदेखि सुरु भएर भदौ ६ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।