हेटौँडा : नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश समितिले संघको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम र वृद्धाश्रममा सहयोग कार्यक्रम गरेको छ । संघको ४१औं वार्षिकोत्सवको अवसरमा बुधबार हेटौँडामा रक्तदान कार्यक्रम गर्नुका साथै हेटौँडा–२ स्थित ओम वद्धाश्रममा आश्रितलाई खाना खुवाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् । नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश समितिकी अध्यक्ष संगीता लम्साल पौडेलले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साउन २८ गते नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र र साउन ३० गते हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।
पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भइरहेकोले रगतको व्यवस्थापन सहज रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । यसअघि मंगलबार संघले हेटौँडा–२ स्थित ओम वृद्धाश्रममा आश्रितलाई खाना खुवाएको छ ।











