लामो संघर्षपूर्ण यात्रा, कठिन मिहिनेतपछि बल्ल मकवानपुरका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने मार्ग प्रस्तत भएको छ । यदि अप्रत्यासित कुनै राजनीतिक दुर्घटना नभए बानियाँ मुख्यमन्त्री हुने पक्का देखिएको छ । तर संसदीय दलमा पराजित भएका बहादुर लामाले भने सरकारको नेतृत्व छोड्नु नपर्ने अडान राखिरहेका छन् । उनी संविधानको धारा १६८ (२) को व्यवस्था देखाउँदै मुख्यमन्त्री हुन कुनै अड्चन नरहेको दावी गरिरहेका बहादुर सिंह अन्ततः सत्ता छाड्न तयार भएको समाचार शनिबार सार्वजनिक भएको छ ।
शक्ति र सत्ताको यो खेल अझै सजिलै समाप्त हुन्न । मुख्यमन्त्रीको प्रतिस्पर्धा यस पटक निक्कै कठिन रह्यो । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई पछिल्लो समय बहादुर सिंह लामा चुनौतिको रूपमा खडा भए । नेपाली कांग्रेसको आन्तरिक विवाद अझै मेटिएको छैन । काँग्रेस केन्द्रीय समितिका सहमहामन्त्री डिना उपाध्याय र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबीचको बिवाद र असहमतिले कांग्रेस मकवानपुर विभक्त छ ।
गत निर्वाचनहरूमा इन्द्रले डिना र आनन्द पराजुलीलाई असहयोग गरेको आरोप लागेको थियो भने करिब दुई वर्षअघिको संसदीय दलको नेता चयनको अवसरमा डिना उपाध्यायकै अग्रसरतामा बहादुर सिंह लामालाई अगाडि सारेर इन्द्रलाई संसदीय दलको नेता र मुख्यमन्त्री हुनबाट रोक्ने काम भयो । पार्टीभित्रको यो शक्ति संघर्ष अझै कायमै छ ।
एकले अर्कोलाई खुइल्याउँदै यी दुई नेताबीचको गुटगत प्रतिस्पर्धाले मकवानपुर कांग्रेसका कार्यकर्तालाई निराश र हतोत्साहित बनाएको छ । कांग्रेस भित्रको यहि यदुवंशी लडाई मकवानपुरमा चर्को ढंगको देखिन्छ । एकले अर्कोलाई कमजोर देखाउने कार्यले कार्यकर्ताहरू अलमलमा परेका छन् । अहिले इन्द्र बानियाँ संसदीय दलका नेता भए, तिनै बहादुर लामालाई पराजित गरेर, खेल उल्टियो, पासा पल्टियो । इन्द्र बहादुरलाई ठूलै बहादूर शेरबहादुरको आशिर्वाद छ भनिन्छ । अर्को बहादुर लामा पनि शेखर, डिनाहरूको समर्थन छ भनिन्छ । यि दुबै बहादुरहरूलाई केन्द्रको नेताको आशिर्वाद छ । कांग्रेस भित्रको गुटगत राजनीति देख्दा उदेक लाग्छ ।
कांग्रेसभित्रको गुटगत राजनीति हेर्दा अत्यन्तै चिन्ताजनक अवस्था देखिन्छ । बागमती प्रदेशका ३७ जना कांग्रेस प्रदेशसभा सदस्यहरू लगभग सबै कुनै न कुनै केन्द्रिय नेताको अनुयायी मात्र छन् ति पार्टीप्रति होइन, नेताप्रति प्रतिबद्ध देखिन्छन् । देउवा, शेखर, प्रकाशशरण, गगन, डिना सबैका पृथक–पृथक अनुयायी छन् । बागमति प्रदेशमा ति कोहि कांग्रेसका सदस्य छैन ति कि देउवा छन्, कि शेखरका छन्, कि प्रकाशशरण महतका छन्, कि डिना र गगनका छन्, यसरी माननीयहरू विभाजित छन्, यी नेताप्रति उतरदायी छन पार्टीप्रति होईन ।
कांग्रेसको यहि खेल भित्रका कुशल नेता हुन् बानियाँ । मकवानपुर कर्मथलो रहेका इन्द्र बानियाँ पटक–पटक सांसद र मन्त्री भइसकेका व्यक्ति हुन् । मकवानपुरको राजनीति उनको वरिपरि घुम्ने गरेको देखिन्छ । पछिल्लो समय, यिनी जुन क्षेत्रबाट लडे पनि कसैले हराउन सकिँदैन भन्ने कथन छ । नेपाली कांग्रेसको राजनीतिक जोड–घटाउमा चतुर बानियाँ राजनीतिका खेलाडी हुन् । यिनी शक्ति केन्द्रहरूसँग राम्रो सम्बन्ध बनाउन सक्षम छन्, जसले उनलाई आर्थिक र राजनीतिक रूपमा सशक्त बनाएको छ । मकवानपुरमा निर्माण क्षेत्रमा संलग्न व्यवसायीहरूसँग उनको राम्रो सम्बन्ध रहेको चर्चा चल्ने गर्छ । उनले व्यापार, व्यवसाय तथा अन्य पूर्वाधार विकासका काममा प्रत्यक्ष रूपमा प्रभाव राख्ने गरेको छ भनिन्छ । यसले उनी राजनीतिक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि बलियो सञ्जाल बनाउन सफल भएको देखिन्छ ।
यसै गुटगत राजनीतिको बीचमा इन्द्र बानियाँ चतुर्याइँपूर्वक अगाडि बढ्दै आएका छन् । उनले केन्द्रसँग निकटता कायम गर्दै, शक्ति सन्तुलनको राजनीतिमा आफूलाई सशक्त बनाएका छन् । चुनाव जहाँबाट लडे पनि जित्नसक्ने हैसियत बनाएका बानियाँ प्रदेशको आर्थिक तथा पूर्वाधार विकासमा पनि प्रभावशाली भूमिका खेलेको चर्चा छ । अब उनी मुख्यमन्त्री बन्ने लगभग तय भइसकेको अवस्थामा, हेटौंडाले फेरि एकपटक मुख्यमन्त्री पाउने भएको छ ।
इन्द्र बानियाँ मुख्यमन्त्री हुँदा मकवानपुरलाई घाटा छैन । जसरी डोरमणि पौडेल मुख्यमन्त्री भएको कारणले बागमती प्रदेशको राजधानी हेटौँडा भयो, गणित र संख्याको आधारमा हेटौंडा राजधानी हुन असम्भव थियो । डोरमणि पौडेलको पहलकदमी यस मानेमा प्रशंसायोग्य छ । मकवानपुरको मुख्यमन्त्री भएको फाइदा हो यो । त्यस्तै, अब इन्द्र बानियाँ मुख्यमन्त्री भए यिन्ले राजधानी अनुकूलको पूर्वाधार निर्माणमा जोड दिने छन् भन्ने विश्वास गर्न सकिन्छ । प्रदेशको विकासमा तिव्रता र सम्भावना देखिन सक्छ । बागमती प्रदेश सबैभन्दा स्रोत सम्पन्न र आर्थिकरूपमा महत्वपूर्ण प्रदेश हो । यस्तो प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा विकासको रोडम्याप, नवप्रवर्तन र संस्थागत सुधार देखिनु पर्ने हो ।
तर बहादुर सिंह लामाको नेतृत्वमा प्रदेश सरकार न राजनीतिक रूपले सक्रिय रहन सक्यो, न संस्थागत रुपमा प्रभावकारी । जनताले महसुस गरे मुख्यमन्त्री भए पनि नेतृत्व छैन । मुख्यमन्त्रीको भूमिकामा रहँदा लामा जनतासँग संवाद गर्ने, उनीहरूको आवाज सुन्ने दायित्वबाट टाढा रहनुभयो । उहाँको जनसम्पर्क शून्य जस्तै थियो । झन यसपालि लामा सरकारले ल्यायको बजेट घेरै आलोचित भयो । बजेट निर्माणमा बिचौलिया, ठेकेदार दलालहरूको ठूलो चलखेल भयो । बहादुर लामाको सरकारको पतन यहिबाट शूरू भयो । उहाँको कार्यकालमा ल्याइएको बजेट इतिहासकै ठूलो भनियो, तर त्यो संख्यात्मक फुर्तो, गुणस्तरहिन निराशामा परिणत भयो । बजेटले प्राथमिकता पहिचान गर्न सकेन, न त स्थानीय तहहरूसँग समन्वय नै भयो । लामाले नेतृत्व गरेको सरकार नीति निर्माणमा ढिलो, अस्पष्ट र अदूरदर्शी रह्यो । प्रदेशस्तरका कानुन र विकास योजनाहरूमा स्पष्टता नदेखिनु गम्भीर कमजोरी थियो । यहि पृष्ठभूमिमा बानियाँको उदय भएको छ । मूख्यमन्त्री बन्ने आधार र परिस्थिति देखिएको छ ।
यद्यपि बहादुर सिंह लामाले राजीनामा नदिने अडान लिएर बानियाँलाई मुख्यमन्त्री बन्नबाट रोक्ने पो हो कि भन्ने अनुमान गरिएको थियो । संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढि पार्टीहरूको सरकार बनाउँदा संसदीय दलको नेता हुन नपर्ने जस्ता व्यवस्थाले लामो समय लिङरिङ हुन सक्छ र यो विषय अझै लम्व्याउन सक्छ भन्ने अनुमान भइरहँदा अन्ततः बहादुर सिंह लामाले मार्ग प्रशस्त गर्ने भएको छ । संघियताप्रति नै मानिसको वितृष्णा बढेर गएको बेला, प्रदेशकोको मुख्यमन्त्री को ? प्रदेश अध्यक्ष को ? पटक्कै चासो नभएको बेला प्रदेश तिर देखिने यस्तो विवाद र झमेलाले संघियता खारेज गर भन्नेहरूलाई बल पु¥याइरहेको छ । तसर्थ संघीयता बलियो बनाउनुपर्छ भन्नेहरूले घोत्लिउन्, सोचुन् ।
इन्द्र बानियाँको पनि परीक्षा अब शुरू भएको छ । मुख्यमन्त्रीहरूको लाईनमा डोरमणि, शालिकराम, राजेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, बहादुर सिंह लामाले जस्तै आफ्नो फोटो मात्र झुण्ड्याउने हो कि अलि फरक भएर प्रस्तुत हुने यो परीक्षाकै घडि हो । फरक देखाउन सकिन्छ, माथि उल्लेखित कुनै मुख्यमन्त्री हेटौँडावासी सम्झदैनन्, तर राजधानी हेटौँडा बनाएको श्रेयका लागि डोरमणिलाई सम्झन्छन् । हो तपाईले पनि छुट्टै जनताको मनमा बस्ने काम गर्नुपर्छ । प्रदेशभरि काम गर्नुपर्ने जिम्मेवारी त छँदैछ छ तर राजधानी रहेको यस जिल्लामा उल्लेखनीय केहि काम गर्नुपर्छ ।
बानियाँले अब हेटौँडाको वास्तविक चिन्ता बुझ्नुपर्छ । हेटौँडाको मुख्य बजार दिन प्रतिदिन कुरूप र साँघूरिँदै छ । फराकिलो किन बन्दैन, किन सधै राजनीतिले विकासलाई अवरोध पुर्याउँछ । राजधानी अनुरूपको बाटोघाटोयुक्त शहर विकास गर्न प्रदेश सरकारको पनि चासो देखिनु जरूरी छ । अब इन्द्र बानियाँले राजधानी अनुकूल पूर्वाधार निर्माणतर्फ अग्रसर हुने अपेक्षा गरिन्छ । प्रदेश सरकारले युवाहरूलाई रोजगारी सिर्जना गर्ने रणनीति अपनाउनुपर्छ । कृषि, पर्यटन र लघु उद्यमहरूमा स्टार्टअपमार्फत अवसर दिनुपर्छ । प्रदेशलाई नमूना प्रदेश बनाउने सपना देख्ने हो भने नेतृत्वले आफ्नो शैलीमा नयाँपन ल्याउनैपर्छ । अब इन्द्र बानियाँले फोटो टाँस्ने होइन, केही गरेर देखाउने चुनौती स्वीकार्नुपर्छ । मुख्यमन्त्रीको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुहोस् भन्ने अग्रिम शुभकामना । सबैको जय होस् ।











