हेटौँडा : हेटौँडा–५, भैरवरोडस्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋण कार्यक्रम विस्तारका लागि सदस्यहरुलाई अभिमुखीकरण गरेको छ । यसअघि वार्षिक साधारणसभामा पारित संस्थाको ऋण परिचालन नीतिसहित वित्तीय साक्षरताका विषयमा अभिमुखीकरण गरिएको हो ।

चालु आर्थिक वर्ष २०८२/०८३ देखि सहकारीले बचत तथा ऋण कार्यक्रमलाई विस्तार गर्ने तयारी स्वरुप शेयर सदस्यहरुलाई प्रभावकारी बचत तथा ऋण परिचालनबारे वित्तीय ज्ञान दिने उद्देश्यले शनिबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सहकारीका कोषाध्यक्ष मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसअघि पनि सदस्यहरुलाई अभिमुखीकरण गर्दै आएकोमा यस पटक पछिल्ला क्रमसंख्याका शेयर सदस्यहरुलाई बचत तथा ऋण परिचालन गरिएको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । ५ सय ९९ जना सेयर सदस्य रहेको बहुउद्देश्यीय सहकारीमा बचत तथा ऋण कार्यक्रममा हालसम्म सबै शेयर सदस्यहरुलाई वित्तीय साक्षरता सञ्चालन भइसकेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बचत कार्यक्रम पनि सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । हालसम्म १ सय १५ जना शेयर सदस्यहरुले ४ लाख ५१ हजार बचत गरेको र नियमित बचतकर्तालाई १८ प्रतिशत लाभांश वितरण गरिने पनि कोषाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

सहकारीको बचत तथा ऋण उपसमितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागमती कार्यालयका प्रमुख रामेश्वर अर्याल, हेटौँडा उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षकद्वयले सहकारी सम्बन्धी नीति, नियम तथा प्रावधानका विषयमा सहजीकरण गर्नुभयो । संस्थाका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका पदाधिकारी एवम् शेयर सदस्यहरुको सहभागिता थियो ।