हेटौँडा : जेसीआई चैनपुरले प्रि इन्डक्सन एण्ड मोटिभेसन तालिमको आयोजना गरेको छ । जेसीजको सदस्य बन्न चाहनेहरुका लागि शनिबार तालिमको आयोजना गरिएको हो । कृष्णप्रसाद खनालको संयोजकत्व एवम् जेसीआई चैनपुरका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक समेत रहनु भएका जेसीआई हेटौँडा वर्ष २०१५ का अध्यक्ष दीपकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।

मिश्रले जेसीजको विषयमा जानकारी दिनुहुँदै यसका अवसर, जेसीजको मर्म, मूल्य–मान्यताका विषयमा जानकारी गराउनुभएको थियो । सन् २०२२ मा स्थापना भएको जेसीजले गर्दै आएको कार्यहरुको विषयमा जानकारी दिनुहुँदै शाखा अध्यक्ष ढकालले जेसीजमा जोडिन चाहने युवाहरुसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल, कार्यकारिणी उपाध्यक्ष मनोज विष्ट लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जेसीआई चैनपुरमा हाल ४१ जना सदस्य रहेको र विधान अनुसार नयाँ सदस्य थप गरिएको महासचिव सुरेश गौतमले जानकारी दिनुभएको छ ।