हेटौँडा : बागमती प्रदेशको दोश्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा बागमती प्रदेशमा क्रियाशील विकास साझेदार संस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा दोश्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले प्रदेशको समृद्धि, सन्तुलित तथा दीगो विकासको लक्ष्यसहित आयोजित उक्त कार्यक्रमले प्रदेश सरकारको दोश्रो आवधिक योजनाको प्रभावकारी कार्यान्वयनमा सघाउन साझेदार संस्थाहरुलाई प्रभावकारी सहकार्यका लागि आग्रह गर्नुभयो । ४० भन्दा बढी विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको रूपान्तरणः आर्थिक समृद्धि र समतामूलक समाज’ को दिशामा एक महत्वपूर्ण प्रयास भएको उल्लेख गर्दै सबै विकास साझेदारलाई योजनाको सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गर्नुभएको थियो ।
उक्त अवसरमा नीति तथा योजना आयोगले हालै तयार पारेको विकास जर्नल पनि सार्वजनिक गरिएको थियो । साथै, सहभागी संस्थाहरूले बागमती प्रदेशमा आफ्नो संस्थागत कार्यक्रम, हस्तक्षेप क्षेत्र र कार्य पद्दतिबारे जानकारी गराउनुभएको थियो । साझेदार संस्थाहरुले भविष्यमा योजना आयोग र सम्बन्धित मन्त्रालयहरूसँगको सहकार्यलाई प्रष्ट बनाउँदै दीर्घकालीन विकास लक्ष्य, सोहौँ योजना तथा दोश्रो आवधिक योजनाका लक्ष्यमा पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
योजना आयोगका उपाध्यक्ष डा. नेपालका अनुसार दोश्रो आवधिक योजना अन्तर्गत सडक स्तर उन्नती, कृषि, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र सेवा प्रवाह विस्तारमा विशेष जोड दिइएको छ । योजनाको सफल कार्यान्वयनका लागि सरोकार निकायबीच समन्वय र सहकार्य अझ आवश्यक रहेकोमा डा. नेपालले जोड दिए । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव भूपाल बराल, प्रदेश तथा स्थानीय शासन सहयोग राष्ट्रिय कार्यक्रमका निर्देशक रुद्रसिंह तामाङ लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले दोश्रो आवधिक योजनाले प्रदेशको विकास यात्रामा साझेदारीको भूमिकालाई थप संस्थागत र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।











