साथीहरुसँग छलफल गर्ने मुख्यमन्त्री लामाको जवाफ
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मार्ग प्रशस्त गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर मार्ग प्रशस्त गर्न निर्देशन दिनुभएको हो ।
सरकार बारे छलफलका लागि सभापति देउवाले बोलाउनु भएपछि बिहीबार नै काठमाडौं पुग्नु भएका मुख्यमन्त्री लामालाई पदबाट राजिनामा दिन निर्देशन दिएको एक प्रदेशसभाले जानकारी दिएका छन् । प्रदेशमा देखिएको समस्या समाधानका लागि मुख्यमन्त्री लामालाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको उनले बताए । सभापति देउवाले पार्टी भित्रको कुरालाई धेरै नलम्ब्याउन निर्देशन दिनुभएको उनको भनाइ छ । उनका अनुसार छलफलका क्रममा मुख्यमन्त्री लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार गरेर जान सभापति देउवाको सुझाव रहेको थियो ।
पार्टी भित्रको विवादले कसैलाई फाइदा नपुग्ने भन्दै देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको ती प्रदेशसभा सदस्यले बताए । सभापति देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टिमसँगको छलफलपछि मात्रै राजीनामा दिने कि नदिने भन्ने निर्णय गर्ने बताउनुभएको थियो ।
‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस् । लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्घृत गर्दै ती प्रदेशसभा सदस्यले भने, ‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ । तर, उहाँ (लामा) ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन । १/२ दिनमा नै राजिनामा आउँछ ।’
प्रदेशसभा सदस्य गोविन्द लम्सालका अनुसार उहाँहरु बीच पछिल्लो अवस्थाको व्यवस्थापन बारे छलफल भएको र मिलाएर अघि बढ्ने निश्कर्ष आएको उहाँले बताउनुभयो । सरकारको निरन्तरताका विषयमा आन्तरिक छलफल गरेर निर्णयमा पुग्ने मुख्यमन्त्री लामाले बताएको उहाँले बताउनुभयो । सोही अनुसार बिहीबार नै मुख्यमन्त्री लामाले आफू निकट प्रदेशसभा सदस्यहरुसँग काठमाडौंमा छलफल गरेको उहाँको भनाई छ । छलफलमा सरकारको निरन्तरताको विकल्पमा अघि बढ्न शिर्ष नेतृत्वसँगको संवाद चलाउने निश्कर्ष लिएको उहाँले बताउनुभयो ।










