हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएसँगै मुख्यमन्त्री बहादुर सिंह लामा चौतर्फी घेराबन्दीमा पर्नुभएको छ । उहाँलाई पार्टी र संसदीय दलबाट राजीनामाको दबाब परिरहेको छ भने सत्ता साझेदार दल एमालेबाट पनि घेराबन्दी सुरु भएको छ ।
मुख्यमन्त्री लामाले आफ्नो दल कांग्रेससहित साझेदार दल एमालेको साथ पाउन सकेका छैनन् भने प्रदेश प्रमुख कार्यालयको पनि सहयोग गुमाएका छन् । उहाँलाई पार्टी, कांग्रेस शिर्ष नेतृत्व, प्रदेश समिति, संसदीय दलदेखि संवैधानिक निकायको असहयोग देखिएको छ । जसले उहाँलाई चर्को दवाव खेप्न बाध्य बनाएको छ । सरकार विस्तारको तयारीमा रहेका मुख्यमन्त्री लामा चौतर्फी घेराबन्दीका कारण काठमाडौँ हिँड्नु भएको छ । सरकारबाट तत्काल राजीनामा नदिने अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्री लामा काठमाडौँ हानिनु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएपछि उहाँ बिहीबार दिउँसो काठमाडौं हिड्नु भएको हो ।
मुख्यमन्त्री लामा आफूले राजीनामा दिनुपर्ने कुनै आधार नरहेको र संविधानको व्यवस्था गरेको अनुसार चल्ने बताउँदै आउनुभएको छ । संविधानको धारा १६८(२) अनुसार बनेको सरकारमा मुख्यमन्त्री बन्न दलको नेता हुनैपर्छ भन्ने नरहेको उनको दावी छ । उक्त सरकारलाई दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पनि नमिल्ने गरी संविधानले स्थिर सरकारको व्यवस्था गरेको उहाँले बताउनुभयो । यसैबीच मुख्यमन्त्री लामामाथि कांग्रेस संसदीय दलबाट राजीनामाको दबाब पर्दै आएको छ भने एमालेबाट पनि सहयोग प्राप्त हुन सकेको छैन । संस्थागत निर्णय मान्ने निर्णयसहित एमाले संसद दलको बैठकले मुख्यमन्त्री लामालाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । पार्टीको आन्तरिक प्रक्रिया अनुसार चुनिएका दलको नेतालाई नै एमालेले स्वीकार गर्ने निर्णयसहित प्रदेश सभालाई अस्थिरतातर्फ धकेल्न नहुने जनाएको छ ।
सोही क्रममा एमालेले मुख्यमन्त्रीको सरकार विस्तारको मुभलाई विफल बनाउन बुधबार सफल भएको थियो । एमाले संसद दलका नेता जगन्नाथ थपलियाले सरकार विस्तारको अन्तिम तयारीमा रहेका मुख्यमन्त्री लामाको निर्णय फेल गराएका थिए । पार्टीको आन्तरिक चुनावी प्रक्रिया चलिरहेका बखत मन्त्रिपरिषद् विस्तार नगर्न सुझाव दिँदै उक्त प्रक्रियामा एमालेको समर्थन नरहेको जनाएका थिए । जसका कारण बिहान ९ बजेको शपथ ग्रहण कार्यक्रम रोकिएको थियो भने दिनभर उक्त विषय अघि बढ्न सकेको थिएन ।
संसदीय दलको नेतामा अन्ततः १४ मतसहित मुख्यमन्त्री लामा पराजित भोगेपछि एमाले निर्वाचित दलको नेतालाई नै स्वीकार्ने निर्णयमा पुगेको थियो । पार्टी केन्द्रको निर्देशन अनुसार दलको नेतालाई नै एमालेले स्वीकार गर्ने भएकाले अन्तिम मन्त्रीको ग्रहण रोकेका थिए । यता प्रदेश प्रमुखबाट पनि मुख्यमन्त्री लामालाई सहयोग प्राप्त हुन सकेको छैन । ३ मन्त्रीको सपथ ग्रहण बिहीबार दिउँसो तोकेर सूचना जारी गरेका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अचानक बिरामी परेको भन्दै स्थगित गर्नुभयो । सपथ ग्रहण रोकेर प्रदेश प्रमुख देवकोटा उपचारका लागि भन्दै बिहीबार बिहान काठमाडौं हिँड्नु भएको भए हुन्थ्यो । कार्यपालिकाको निर्णय मान्नु प्रदेश प्रमुख देवकोटाको लागि अनिवार्य थियो । तर, साझेदार दलहरुको असहमति बीच तयारी गरिएको ३ मन्त्रीको सपथ गराउन उहाँले नचाहेको देखिन्छ । जसका कारण मुख्यमन्त्री लामा थप दवावमा परेका थिए ।
उता मुख्यमन्त्री लामामाथि कांग्रेस शीर्ष नेतृत्व नै लागेर राजिनामा गराउने तयारी रहेको छ । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा महामन्त्री गगनकुमार थापा, प्रवक्ता प्रकाशरण महत नेता प्रकाशमान सिंह लगायतको दबाब रहेको छ । संसदीय दलको नेताले प्रदेशको मुख्यमन्त्री बन्ने संसदीय अभ्यास गर्दै आएको कांग्रेसले लामालाई राजीनामा गराएर नयाँ सरकार निर्माणको तयारी गर्ने योजना निर्माण गरेको हो । नयाँ सरकार गठनका लागि एमाले कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्रीमा संसद दलका नेता इन्द्रबहादुर बानियालाई अघि सार्ने तयारी रहेको छ । जसका कारण मुख्यमन्त्री लामा दबाबमा देखिएका छन् ।
बुधबार सम्पन्न कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा मुख्यमन्त्री लामालाई प्रदेश सभापति बानियाँ पराजित गरेका थिए । कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो । यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत (२२ मत)ले पारित गरेको थियो ।










