हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको दोलखा, चितवन र धादिङ जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दोलखाको जिरी नगरपालिका–६ स्थित गुराँस पार्कमा चिनअप गर्ने क्रममा लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ खावा घर भएका ३९ वर्षीय नुर्बु शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान ११ बजेको समयमा गुंरास पार्कमा रहेको प्रतीक्षालयमा चिनअप गर्ने क्रममा ६ मिटर तल खसेर शेर्पा गम्भीर घाइते भएका थिए । शेर्पाको जिरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा सोमबार बिहान ११ बजेर ५ मिनेटको समयमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित चौधकिलोमा तेल ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार चितवनको भरतपुर–११ बस्ने ३३ वर्षीय सागर कुमाल र भरतपुर–१४ घर भई हाल क्षेत्रपुर बस्ने ४७ वर्षीय कबिराज विश्वकर्मा गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रमममा सागरको साँझ ५ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते कविराज नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका–२ किबेरी जमुनाटारमा एक पुरुष आफ्नै फर्मभित्र मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सिद्धलेक–३ आमकोट बस्ने ५५ वर्षीय मंगल थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार बिहान ८ बजेर ४० मिनेटको समयमा आफू बसोबास गर्दै आएको आयुष कृषी तथा पशुपन्छी फर्मभित्र मृत भेटिएका हुन् । उनी विगत दुई वर्षदेखि सोही फर्ममा बस्दै आएका थिए । मृतकको मृत्युको कारण खुल्न नसकेकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











