हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथर बजारमा सोमबार बिहान स्यालको आक्रमणबाट तीन जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लोथर सामुदायिक वन क्षेत्रबाट अचानक एक स्याल निस्किएर सडकमा हिँडिरहेका तिन जनालाई आक्रमण गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आक्रमणबाट मनहरी–६ का ३० वर्षीया तारा थापा तामाङ, ४८ वर्षीय हरी पौडेल र ५२ वर्षीय अलि उल्लाह घाइते भएका थिए । तीनै जनालाई खुट्टामा चोट लागेको थियो । घाइतेमध्ये थापा र पौडेललाई चितवनस्थित गड्यौली मेडिकलमा र अलि उल्लाहलाई हेटौंडा अस्पतालमा उपचार गरिएको थियो । तिनै जना सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । स्याल आक्रमणपछि जंगलतर्फ भागेको थियो भने वन तथा सुरक्षाकर्मीहरूले त्यस क्षेत्रको अनुगमन गरिरहेको प्रहरीले जनाएको छ ।










