मुख्यमन्त्रीविरुद्ध हस्तक्षर गरेका २ जना प्रदेश सभाले मुख्यमन्त्रीकै पक्षमा रहेको जनाउँदै सार्वजनिक गरेको प्रेस विज्ञप्ति ।

हेटौँडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुर सिंह लामालाई हटाउन हस्ताक्षर गरेका २ जना प्रदेशसभा सदस्यले समर्थन फिर्ता गरेका छन् । संसदीय दलको नेतामा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा खुलेर हस्ताक्षर गरेका चितवनकी माया श्रेष्ठ र काठमाडौंकी मीना पराजुलीले पुनः संसदीय दलको नेतामा बहादुर सिंह लामालाई नै सहयोग गर्ने भएका छन् ।

उनीहरुले एक विज्ञप्ती जारी गर्दै आफ्नो हस्ताक्षर फिर्ता गरेको र मुख्यमन्त्री लामालाई नै समर्थन रहेको जनाएका हुन् । गत शुक्रबार मुख्यमन्त्री लामा विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा श्रेष्ठ र पराजुलीसहित २१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए । दुई सदस्यको हस्ताक्षर फिर्ता भएसँगै सभापति बानियाँको पक्षमा १९ जनाको हस्ताक्षर कायम रहेको छ ।

यता प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री श्याम खड्का समेत राजिनामाको तयारीमा रहेका छन् । सोमबार राति बसेको कांग्रेस संसदीय दलको छलफलमा नै राजिनामा बुझाएका मन्त्री खड्काको पत्र बुझाएपनि मुख्यमन्त्री लामाले बुझ्न मान्नुभएको थिएन । मन्त्री खड्काले मुख्यमन्त्री लामालाई राजिनामा बुझाएर बानियाँको पक्षमा उभिने र संसदीय दलको नेता परिवर्तनको पक्षमा हस्ताक्षर गर्न निर्णयमा पुग्नुभएको छ । त्यस्तै बानियाँको पक्षमा हस्ताक्षर गर्न नेता शेखर कोइराला समुहका ३ जना प्रदेशसभा सदस्य पनि तयार देखिएका छन् ।