हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध कांग्रेस संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्ताव सहमतिमा नै टुंग्याउने प्रयास भएको छ । नेता लामा विरुद्धको अविश्वासको प्रस्तावमाथि मंगलबार छिनोफानो गर्नेगरी सोमबार दिनभरको छलफल निष्कर्षविहिन बनेको थियो ।

सोमबार अबेरसम्म भएको संसदीय दलको छलफलले संसदीय दलको विवाद सहमतिमा नै टुंग्याउने गरी लामाले राजीनामा गराउन प्रयास भएको हो । उक्त अवस्था नबने मतविभाजन गर्नेगरी सोमबारको छलफल मंगलबार बिहान १० बजे बस्ने गरी स्थगित भएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय प्रतिनिधि राजेन्द्र केसीले सोमबारको छलफलले अविश्वासको प्रस्तावलाई सहमतिमा टुंग्याउने गरी निष्कर्ष निकालेको जानकारी दिनुभयो । उक्त विवादमा प्रक्रियागत विषय टुंगो लगाउनु बाँकी रहेको उहाँले बताउनुभयो ।

‘वर्तमान संसदीय दलका नेताले मार्ग प्रसस्त गर्ने भन्ने कुरा सहमतिको आधार हो, त्यसको प्रक्रिया के हुने भन्ने कुरा मात्र बाँकी छ,’ उहाँले भन्नुभयो । छलफल सोमबार राति अबेरसम्म चले पनि निश्कर्ष ननिस्किएपछि बुधबार बिहान १० बजे पुनः छलफल जारी राख्ने गरी बैठक स्थगित गरिएको छ । नेता केसीले यदि सहमति कायम भयो भने अविश्वासको प्रस्तावमा मत विभाजनको अवस्था नआउने स्पष्ट पार्नुभयो ।

उता, मुख्यमन्त्री लामा पक्षका उपनेता रामकृष्ण चित्रकारले पनि सहमतिको प्रयास भइरहेको र प्रस्तावको प्रक्रिया बारे केही असमझदारी रहे पनि छलफलबाटै टुंग्याउने प्रयास भइरहेको बताउनुभयो । मन्त्री चित्रकारले भन्नुभयो, ‘सहमतिको मोडालिटीबारे अन्तिम निश्कर्ष निकाल्न नसके पनि वर्तमान नेताले मार्ग प्रसस्त गर्न सक्नेबारे गम्भीर छलफल भएको छ ।’

गत शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा बहादुर सिंह लामा तामाङविरुद्ध २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । संसदीय दलका ३७ मध्ये १९ जना प्रदेशसभा सदस्यको समर्थन भए परिवर्तन सम्भव हुनेमा २१ जनाले हस्ताक्षर गरेपछि राजनीतिक संकट चुलिएको थियो ।

सोमबार भएको छलफल र सहमतिको प्रयासले दलभित्रको विवाद टुंग्याउने सकारात्मक संकेत देखिएको छ । दलको नेतृत्व सहमतिमै हस्तान्तरण गरी गठबन्धन व्यवस्थापन गर्दै अघि बढ्न सकिने सम्भावना बलियो बन्दै गएको छ ।