प्रहरीले बरामद गरेको लागूऔषध र स्कारपियो ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, हेभीस्थित हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डमा लागूऔषधसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार राती ९ बजेको समयमा विरगंजबाट काठमाडौं जाँदै गरेको बिआर ०५ पिए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले गाडीमा फल्स बटम बनाई लुुकाई ल्याएको डाइजेपाम २ हजार २ सय २६ एम्पुल, फेनारगन एक हजार ८ सय ६१ एम्पुल, नोरफिन २ हजार ३ सय ५६ एम्पुल र ट्रामाडोल (ट्याब्लेट) ४९ वटा बरामद गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको मोतिहारीका २४ वर्षीय गाडी चालक शेख गुलजार, ४३ वर्षीय शेख सकुत, १९ वर्षीय नेशाब आलम र २५ वर्षीय बसिम अहमद रहेका छन् । उनीहरूलाई थप अनुसन्धानका नियन्त्रणमा लिइएको छ ।