हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटारमा आइतबार दिउँसो दुर्घटना भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ का ५२ वर्षीय मोतिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।

आइतबार दिउँसो साढे २ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका स्कुटर क्षेत्रीलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । आइतबार दिउँसो ३ बजेर १० मिनेटको समयमा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्कुटरमा पछाडि सवार चितवन जिल्लाको भरतपुर–७, सरतपुरकी ३७ वर्षीया नरमाया गुरुङ घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र ट्रक चालक सप्तरी जिल्लाको वोर्डप्रसाई नगरपालिका–२ का ३५ वर्षीय अशोक यादवलाई नियन्त्रणमा लिएको छ ।