Home मुख्य समाचार इस्टु मनहरीको संयोजकमा सुवेदी, न्यूनतम् पारिश्रमिक दिन आग्रह

इस्टु मनहरीको संयोजकमा सुवेदी, न्यूनतम् पारिश्रमिक दिन आग्रह

इस्टु मनहरी गाउँपालिका समिति गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को मनहरी गाँउपालिका समिति गठन गरिएको छ । शनिबार एक भेलाले किरण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरिएको इस्टु केन्द्रीय समिति सदस्य नवीन मिश्रले जानकारी दिनुभयो । इस्टु मनहरी गाउँपालिका समितिको सहसंयोजकमा समिर राउत चयन हुनुभएको छ ।

इस्टुको राष्ट्रिय समिति उपाध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्य तथा राष्ट्रिय समितिका उपमहासचिव श्यामकृष्ण ज्ञवालीको विशेष आतिथ्यमा शनिबार मनहरीमा पालिकास्तरीय भेला भएको हो । यसैबीच इस्टुले संस्थागत बिद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई न्युनतम सेवा, सुविधासहित न्याय दिलाउनका लागि निरन्तर अभियानमा लाग्ने भएको छ । शनिबार इस्टुको जिल्ला तथा हेटौंंडा उपमहानगर समितिको संयुक्त बैठकले अबको क्रममा इस्टुले सोझै विद्यालयमा नै ज्ञापनपत्र बुझाउने र त्यसको बोधार्थ श्रम तथा रोजगार कार्यालय मकवानपुरलाई बुझाउने निर्णय गरेको हो ।

हालसम्म हेटौँडाका ५ वटा संस्थागत विद्यालयले आफ्ना शिक्षक तथा कर्मचारीलाई न्युनतम सेवा सुविधा नदिएको जानकारी आएकाले सुरुमा ५ वटा विद्यालयलाई लक्षित गरेर यस अभियान अघि बढाइने इस्टु केन्द्रिय सदस्य मिश्रले जानकारी दिनुभयो । विद्यालयले शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागी गराउनुपर्ने, नियुक्ति पत्र दिएर मात्र काममा लगाउनुपर्ने, सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरु बराबरको तलब तथा अन्य सेवा सुविधा दिनुपर्ने इस्टुले माग गर्दै आएको छ । बैठकले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई सार्वजनिक बिदा, बिरामी बिदा, सुत्केरी बिदा, सुत्केरी स्याहार बिदा सुनिश्चित हुनुपर्ने माग पनि गरेको छ ।

Exit mobile version