हेटौँडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन दर्ता भएको अविश्वास प्रस्ताव बुझेको विषयमा मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा असन्तुष्ट देखिनु भएको छ । शुक्रबार आफू विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव लिएको विषयमा संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई मुख्यमन्त्री लामाले फोन मार्फत् असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
मुख्यमन्त्री लामाले सचिव तामाङलाई फोन मार्फत् आफूलाई धोका दिएको बताउनुभएको हो । संवादका क्रममा मुख्यमन्त्री लामासँगै रहेका एक सदस्यका अनुसार मुख्यमन्त्री लामाले सचिव तामाङसँग रुष्ट हुँदै धोका भएको बताउनुभएको थियो । मुख्यमन्त्री लामा आफू विरुद्धको अविश्वास प्रस्ताव स्वीकार नगर्ने पक्षमा रहेको र सोही अनुसार दलका पदाधिकारीलाई सूचना पुर्याएको उहाँले बताउनुभयो । यद्यपी काठमाडौंमा रहेका सचिव तामाङ भने मुख्यमन्त्री विरुद्धको संसदीय दलको नेताबाट हटाउने अविश्वासको प्रस्ताव बुझ्न हेटौंडा आइपुग्नुभएको थियो । सोहि विषयलाई लिएर मुख्यमन्त्री लामाले सचिव तामाङलाई धोका दिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको हो ।
‘मुख्यमन्त्रीले समीरजीलाई फोन गरेर तपाईं किन गएको भन्नुभयो । उताबाट जवाफ के आयो मलाई थाहा भएन । त्यसपछि मुख्यमन्त्रीले फेरी तपाईं जान नहुने त्यहाँ किन जानुभएको, किन बुझ्नुभएको त्यो प्रस्ताव भन्नुभयो’, मुख्यमन्त्री लामाको भनाई उदघृत गर्दै ति सदस्यले भने, ‘त्यसपछि फोनमा मधुर आवाजमा सचिव तामाङले प्रेसर आयो । अनि आउनु प¥यो भन्नुभयो । मुख्यमन्त्रीले प्रतिउत्तरमा तापाईंसँग गुनासो रह्यो भन्नुभयो र संवाद टुंगिएको थियो ।’
शुक्रबार दिउँसो २१ जनाको हस्ताक्षरसहित कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा उपस्थित १८ जना प्रदेशसभा सदस्यहरुले सचिव तामाङलाई संसदीय दलको नेताबाट लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गराएका थिए । कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री लामा दलको नेता रहेका छन् भने उनले आफू निकट सहयोगी पात्र रामकृष्ण चित्रकारलाई उपनेता, गोविन्द लम्साललाई प्रमुख सचेतक, गीता गुरुङलाई सचेतक, तामाङलाई सचिव र समिता खड्गीलाई कोषाध्यक्ष नियुक्त गर्नुभएको थियो । नियुक्त गरिएका मध्ये सचिव तामाङ नेता मोहनबहादुर बस्नेत निकट हुनुहुन्छ भने कोषाध्यक्ष खड्गी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ निकट हुनुहुन्छ । सचेतक गुरुङ नेता शेखर कोइरालाई निकट हुनुहुन्छ भने प्रमुख सचेतक लम्साल सभापति शेरबहादुर देउवा र उपनेता चित्रकार नेता प्रकाशमान सिंह निकट रहेपनि मुख्यमन्त्री लामाका विश्वासपात्र हुनुहुन्छ ।
उक्त विषयमा सचिव तामाङ भने आफूले दलको पदीय मर्यादामा रहेर जिम्मेवारी पूरा गरेको बताउनुभयो । आफूलाई कसैले पनि अविश्वास प्रस्ताव नलिन जानकारी नगरेको उहाँले बताउनुभयो । अविश्वास प्रस्ताव दर्ता पछि पनि मुख्यमन्त्री लामाले धोका वा असन्तुष्टि व्यक्त नगरेको उहाँले प्रष्ट पार्नुभयो । आफ्नो पद र मर्यादा अनुसार दलले दिएको जिम्मेवारी पूरा गरेको उहाँको भनाई छ ।
‘म राजनीतिमा भर्खरै प्रवेश गरेको मान्छे हो । कसको के स्वार्थ, के उद्देश्य छ मलाई थाहा भएन । म आफ्नो जिम्मेवारी अनुसारको काम गरेर आएको छु । दलको सचिवको हैसियतले आएको विषयलाई दर्ता गराउनु मेरो जिम्मेवारी थियो । जुन कांग्रेस संसदीय दलको विधानले प्रष्ट रुपमा भनेको छ । मैले सोही अनुसार काम गरेको छु । मेरो लामो राजनीतिक भविष्यमा कसैको पक्ष वा विपक्ष लिएर काम गर्नुछैन ।’ उहाँले भन्नुभयो । प्राप्त भएको प्रस्तावलाई दलमा आन्तरिक छलफल पछि छिटो प्रक्रियामा लगेर टुंग्याउने उहाँले बताउनुभयो । सो विषयमा आन्तरिक छलफल थालेको उहाँले बताउनुभयो । छिट्टै नै उक्त विषयहरुमा निर्णय लिने गरी संसदीय दलको बैठक आह्वान गर्ने उहाँको भनाई छ ।
