हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा शिक्षकको दरबन्दी मिलानका लागि छलफल भएको छ । उपमहानगरपालिकाका सम्पूर्ण माध्यमिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग आइतबार छलफल गरेको हो । उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा हेटौंडा—१८ का वडा अध्यक्ष अनिल बानियाँको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको माध्यामिक विद्यालयहरुको प्रावि तहको ५६ जना शिक्षकहरुको दरबन्दी व्यवस्थापन तथा पुनर्वितरणका लागि छलफल भएको हो । छलफलले सम्पूर्ण शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय गरेको छ । छलफलमा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले जहाँ विद्यार्थी छ त्यहाँ शिक्षक हुनुपर्ने भन्दै दरवन्दी मिलानमा सकारात्मक रहेको बताउनुभएको थियो । छलफलमा दरवन्दी मिलानको सम्पूर्ण आधारहरु तय भएको हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाकी सरस्वती कोइरालाले बताउनुभयो । गत वर्ष नै दरवन्दी मिलान गरेर सङ्घीय सरकारलाई पठाउनु पर्ने तर कोरोनाका कारण ढिला भएको र अब भदौ मसान्तसम्ममा स्थानीय तहले दरवन्दी मिलान गरेर पठाउन केन्द्र सरकारले निर्देशन दिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले अब कुन विद्यालयका कति दरवन्दी रहने प्रचलित शिक्षा ऐन, नियमावली अनुसार निर्णय गरेर शिक्षा समितिले छिटै टुङगो लगाउने सामाजिक विकास समितिका संयोजक प्रमुख अनिल बानियाँले बताउनुभयो । समितिकी सदस्य तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा सदस्य जुना दाहालले प्राविको दरवन्दीलाई प्रावि, निमावि र मावि मा मिलान गरिने बताउनुभयो । दरवन्दी मिलानलाई अब शिक्षा समितिले छिटै टुङ्गो लगाउने उहाँको भनाइ थियो । आइतबारको छलफलमा हेटौंडा उपमहानगरपालिकाका माध्यामिक विद्यालयहरुको २५ जना प्रधानाध्यापकहरु र शिक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।