हेटौंडा : हेटौंडा उपमहानगरपालिका, २ नम्बर वडाले बुधबारदेखि त्रिभुवन राजपथको चौकीटोल ओरालो क्षेत्रको सडक फुटपाथ निर्माण सुरु गरेको छ । फुटपाथ निर्माणका लागि सडक छेउमा रहेका अस्थायी घर, टहरा तथा पर्खाल हटाउन थालेको हो ।

२ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनका अनुसार पैदल यात्रुहरु हिँड्नका लागि पेटी (फुटपाथ) नभएकाले असुविधा पुगेको छ । पैदलयात्रुले मुख्य राजमार्ग प्रयोग गर्नुपरेको र त्यसले दुर्घटनाको जोखिम बढाएका कारण सडक पेटी (फुटपाथ) निर्माण सुरु गरिएको उहाँको भनाइ छ । फुटपाथ निर्माण गर्न लागिएको सडक त्रिभुवन राजपथअन्तर्गत पर्दछ, जुन सडक डिभिजन कार्यालयको क्षेत्राधिकारको हो । सडकको राइट अफ वे सार्वजनिक सडक ऐन २०३१ अनुसार ५० मिटरसम्म विस्तार गर्ने कार्य हाललाई स्थगित भए पनि हेटौंडा वडा कार्यालय फुटपाथ निर्माण थालेको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा उद्योग वाणिज्य संघ चोकदेखि लोकप्रिय होटलसम्मको क्षेत्रभित्र पर्ने ३ मिटरभित्रका अस्थायी संरचना हटाई फुटपाथ निर्माण थालिएको वडा अध्यक्ष महर्जनले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित अन्य कानुनहरुको अधीनमा रहेर यो कार्य अघि बढाइएको उल्लेख गर्नुभयो । वडाबासीकै साथ र सहयोगमा सुन्दर र व्यवस्थित वडा निर्माण गर्न सकिने उहाँको भनाइ छ ।