हेटौँडा : हेटौंडा–१२ स्थित प्रतिभा आधारभूत विद्यालयमा शिक्षकको अभावमा गणित विषय पढाइ नहुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । गत बैशाखदेखि विद्यालयमा गणित शिक्षकको अभाव भएपछि त्रैमासिक परीक्षा नजिकिँदा विद्यार्थीहरु मर्कामा परेका हुन् ।

यसअघि कार्यरत गणित शिक्षकले राजीनामा दिएपछि विद्यालयमा गणित शिक्षक अभाव भएको हो । बैशाखबाट नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै विद्यार्थीले गणित विषय पढ्न पाएका छैनन् । गणित विषय पढाइ नै नभएकाले परीक्षामा लेख्न नसकिने विद्यालयका कक्षा ५ मा अध्ययनरत एक विद्यार्थीको भनाइ छ । आगामी साउन ६ गतेदेखि त्रैमासिक परीक्षा सुरु हुने भए पनि गणित विषय पढ्न वञ्चित भएको विद्यार्थीहरुको गुनासो छ ।

गत जेठमा गणित शिक्षकको पदपूर्ति गर्न विज्ञापन प्रकाशन गरे पनि छनोट भएको शिक्षक विद्यालयमा उपस्थित नभएको र वैकल्पिक उम्मेदवार पनि नभएकाले पुनः विज्ञापन निकालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन प्रधानले जानकारी दिनुभयो । तर, पुनः विज्ञापनमार्फत् शिक्षकको पदपूर्ति हुनलाई भदौसम्म कुर्नुपर्ने विद्यालयले जनाएको छ ।

विद्यालयमा १ जना इसिडी, प्राथमिक तहका ५ जना र निमावि तहका ४ जना गरी जम्मा १० जनाको दरबन्दी रहेकोमा गणित विषय शिक्षक रिक्त रहेको हो । निमावि तहको विज्ञान विषयको पनि दरबन्दी नभएकाले प्राथमिक तहकै विज्ञान शिक्षकले पढाउने गरेको विद्यालयकी प्रधानाध्यापक सविना लामाले जानकारी दिनुभयो ।

विद्यालयमा १ सय ८० जना भर्ना भए पनि १ सय ४० जनाको हाराहारीमा मात्र विद्यार्थीहरु नियमित विद्यालय आउने गरेको उहाँले बताउनुभयो । शिक्षक अभाव समस्याले यस वर्ष शैक्षिक गुणस्तर खस्कने डर रहे पनि आर्थिक अभावका कारण विद्यालयले निजी स्रोतबाट शिक्षक राख्न नसकेको उहाँको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नसके यस्तो समस्या नहुने प्रधानाध्यापक लामाले बताउनुभयो ।