रिजन ढकाल र शुभ कंशाकार ।

हेटौंडा : आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटको बन्द प्रशिक्षणमा मकवानपुरका दुई खेलाडी समेटिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मकवानपुरका शुभ कंसाकार र रिजन ढकालसहित ३२ जना खेलाडीहरुलाई आइतबारबाट बन्द प्रशिक्षणमा राखेको मकवानपुर क्रिकेट संघका सचिव विनोद बानियाँले जानकारी दिनुभयो ।

कंसाकार ब्याट्समेन हुनुहुन्छ भने ढकाल बलर हुनुहुन्छ । उहाँहरुले विद्यालय समयदेखि नै क्रिकेट खेल्दै आउनुभएको छ । कंसाकारले राष्ट्रिय खेलमात्र खेल्नु भएको छ भने ढकालले अन्तर्राष्ट्रिय स्तरको खेलहरु समेत खेल्नुभएको छ । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने छनोट खेलका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको बानियाँले जानकारी दिनुभयो । खेलमा नेपाल समूह ‘बी’ मा परेको छ ।

छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्तरुपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । छनोट खेलअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्नेछ । त्यहाँ नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।