हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ लाई बालमैत्री घोषणा गरेको एक वर्ष पूरा भएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको एक वर्ष पुगेको अवसरमा वडा कार्यालयले बिबिध कार्यक्रम गरेको हो ।

शनिबार ८ नम्बर वडा कार्यालयले बालबालिकाको प्रतिभा प्रदर्शनी, बिदाई तथा सम्मानलगायत बिबिध कायक्रम गरी वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्ष असार २९ गते वडालाई बालमैत्री घोषणापश्चात् दिगोपना कायम गर्ने काम गरिरहेको वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । यस वर्षको असार २९ गते आइतबार परेको र बालबालिकाको पढाइ र केही बालबालिकाको परीक्षासमेत रहेकाले शनिबार कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

बालमैत्री वडा घोषणामा मात्र नभई दिगोपना र अर्थपूण सहभागितामा ८ नम्बर वडा अगाडि रहेरे काम गरिरहेको बताएका छन् । गौरीगंगा नगरपालिका, कैलाली जिल्ला, नगरकोट नगरपालिका लागयत अरू ठाउँबाट समेत ८ नम्बर वडामा बालमैत्री शासन अवलोकन गरिएकोमा खुशी व्यक्त गरिएको थियो । वडा अध्यक्ष थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा र दिगोपनाको अभियानमा सहयोग गर्ने टोल विकास संस्था, आमा समूह, बाल समूह, संरक्षक, अभिभावकलगायत वडास्थित विभिन्न संस्थालाई धन्यवाद दिनुभएको छ ।

कार्यक्रममा लागूऔषध दुव्र्यसनी तथा साइबर अपराध न्यूनीकरण गर्न योगदान दिएकोमा इलाका प्रहरी कायालय पशुपतिनगरका प्रहरी निरीक्षक बिमला कठायतलाई सम्मान गरिएको छ । कार्यक्रम स्थल र टेण्ट निःशुल्क उपलब्ध गराउँदै आएका विष्णु अर्जेल र बालमैत्री स्थानीय शासनको दिगोपनामा योगदान दिएकी रोजिता दंगाललाई सम्मान गरिएको छ । कार्यक्रममा प्रतिभा डंगोलले बाल समूहलाई बाल पुस्तकालय प्रदान गर्नुभएको छ । बाल समूह सञ्जालका पूर्व पदाधिकारीलाई बिदाइ र नयाँ पदाधिकारीलाई स्वागत गरिएको थियो । उत्कृष्ट काम गर्ने बाल सञ्जालका ८ जना बालबालिकालाई सम्मान गरिएको छ ।

वडा बाल सञ्जाल अध्यक्ष सुप्रिया मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, बाल कल्याण अधिकारी बिना थिङ, कार्यपालिका सदस्य मञ्जु भुर्र्तेल, वडा सदस्य रीता मंग्राती, नगर बाल समूह सञ्जाल अध्यक्ष सुदान्सु थापा, माइती नेपालकी मन लामा तथा वडाभित्र रहेका २१ वटा बाल समूहका अध्यक्ष, संरक्षक अभिभावक, टोल विकास संस्था, आमा समूह, बालअधिकार समितिलगायतको उपस्थित थियो ।