मकवानपुर जिल्लामा लागूऔषध ओसारपसार, बेचविखन र सेवन जटिल समस्या बन्दै गएको छ । पछिल्लो समय प्रहरीले विशेष सूचनाको आधारमा विभिन्न प्रकारका लागूऔषधसहित मानिस पक्राउ गरिरहेको छ । शुक्रबार र शनिबार मकवानपुर प्रहरीले लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ ग¥यो । बकैया–३, हात्तीसुँडेका २३ वर्षीय र हेटौंडा–१३, पदमपोखरीका २५ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले शनिबार साँझ हेटौंडा–२, पिपलबोट क्षेत्रबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको युवाको साथबाट प्रहरीले लागूऔषध ट्रामाडोल ५२ क्याप्सुल बरामद गरेको छ । शुक्रबार अपराह्न प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१३ का युवकलाई पक्राउ गरेको थियो । सूचनाकै आधारमा प्रहरीले लागूऔषध ट्रामाडोल २० क्याप्सुल र डाइजेपाम ११ एम्पुलसहित उक्त युवकलाई पक्राउ गरेको थियो ।
लागूऔषध कारोबारको केन्द्रजस्तै बनिरहेको मकवानपुरमा लागूऔषध सेवनकर्तासमेत बढ्दै गएका छन् । पछिल्ला दिनहरुमा लागूऔषध सेवन गर्ने र सेवनकर्तालाई लागूऔषध सप्लाइ गर्ने व्यक्तिहरु बढी पक्राउ पर्दै आएका छन् । यसरी पक्राउ पर्नेहरु अधिकांश युवा छन् । अझ नाबालकलाई नै प्रयोग गरेरसमेत लागूऔषध कारोबार हुन थालेको पाइएको छ । गत असार ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०, बसपार्कबाट लागूऔषध खैरो हेरोइनसहित एक जना नाबालकलाई नियन्त्रणमा लिएको थियो । नाबालकलाई लागूऔषध बोकाउने मनहरी–३ का ३० वर्षीय भेण्डम भन्ने साजन थिङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान र पक्राउ परेका नाबालकको बयानका आधारमा लागूऔषध भेण्डमको भएको खुल्न आएपछि खोजी गरेर प्रहरीले पक्राउ गरेको हो ।
लागूपदार्थ ओसारपसार तथा दुव्र्यसनमा बालबालिका र युवाहरुको संलग्नता हुनुले गम्भीर अवस्थाको संकेत गर्दछ । कानुनले वर्जित गरेका लागूऔषधको कारोबारमा ठूलो गिरोह तथा सञ्जाल नै सक्रिय भए पनि प्रहरीले सामान्य कारोबारी र भरियामात्र पक्राउ गर्दै आएको छ । लागूऔषधको कारोबार गर्ने प्रमुख गिरोहको पत्तो प्रहरीले लगाउन सकेको पाइँदैन । नियमित र आकस्मिक चेकजाँच र विशेष सूचनाको आधारमा लागूऔषध ओसारपसार, बेचविखन र सेवनमा संलग्नलाई प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेका व्यक्तिलाई प्रहरीले कानुनबमोजिम अदालतमा मुद्दा दायर गरेर कारबाही गर्ने गरेको भए पनि उनीहरुलाई सोधपुछ गरेर लागूऔषधको ठूला कारोबार गर्ने व्यक्तिसम्म पुग्न सकेको छैन । यसो हुनुमा प्रहरी लागूऔषधको गिरोहसँग डराएको हुनसक्ने वा आर्थिक प्रलोभनबाट प्रभावित भएको हुनसक्ने वा प्रहरीको अनुसन्धान फितलो बन्ने गरेको आंशका गर्न सकिन्छ ।
लागूऔषध देश र समाजकै ठूलो समस्या हो । लागूऔषधले युवा जनशक्ति बेकम्मा बनिरहेको अवस्थामा बालबालिकामा पनि लागूऔषधको जोखिम बढेको छ । विगतमा लागूऔषध दुव्र्यसनमा सीमित भएका बालबालिका लागूऔषध कारोबारमै संलग्न हुनुले राम्रो संकेत गर्दैन । नियमित विद्यालय गएर पठनपाठनमा संलग्न हुनुपर्ने बालबालिका लागूऔषध बोकेर हिँड्दा र लागूऔषध सेवन गरेर बस्दा उसको भविष्य अन्योल बन्ने निश्चित छ । लागूऔषध दुव्र्यसन र कारोबारबाट उत्पन्न जोखिमबाट नाबालकलाई जोगाउन प्रभावकारी नीतिगत तथा कानुनी व्यवस्था आवश्यक छ । लागूऔषध कारोबारीलाई पक्राउ गरेर केही समय कारागारमा राख्दैमा लागूऔषधबाट बालबालिका र युवालाई जोगाउन सक्ने अवस्था देखिँदैन । सबै तहको सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, अभिभावक सबैको प्रयासबाट लागूऔषधमा युवा र बालबालिकाको संलग्नता कम गर्न सकिन्छ ।











