हेटौंडाः हिमालयन राइडर्स सोसाइटी मकवानपुरले शनिबार हेटौंडामा कोरा साइकलयात्रा गरेको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको सहकार्यमा कोरा २०२५ साइकल यात्रा गरिएको हो ।

प्रत्येक वर्ष विश्वभरका साइकल यात्रीहरुले जुलाई १६ तारिखमा कोरा नामको धार्मिक साइकल यात्रा गर्ने गरेका छन् । कोरामा साइकलमार्फत् विभिन्न धार्मिक स्थलहरूको परिक्रमा गर्ने गरिएको छ । स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको २७ किलोमिटर लामो साइकल यात्राको उद्घाटन हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले गर्नुभएको थियो ।
कार्यक्रममा साइकल संस्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठसहित करिब २५० जना सहभागी भएका थिए । कोरा साइकल यात्रा भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भई पारिजातपथ, पशुपति मन्दिर, भुटनदेवी मन्दिर, बुद्धचोक, कान्तिराजपथ, चौघडा, गैरीगाउँ, शिवम् सिमेन्ट, हटियाचोक, चिसापानी, कमाने, शान्तिनगर, भैरबरोड, बुद्धचोक हुँदै हिमालयन दरबार होटल चौकीटोलमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा दैनिक जीवनमा साइकललाई नियमितरूपमा प्रयोग गर्दै आएका १४ वर्षदेखि ३० वर्ष उमेर समूहका छ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो । हेटौंडा–६, रामनगरका आइतमान मुक्तान, पत्रकार गोविन्द न्यौपाने, हेटौंडा–६ का रामप्रसाद पोखरेल, सिन्धुपाल्चोक चौताराका शिक्षक लक्ष्मण तामाङ, मकवानपुर क्याम्पसका प्राध्यापक जयराम गौतम र हेटौंडा–५, पिप्लेका दीक्षान्त सुवेदीलाई सम्मान गरिएको हो ।

२०७८ मा स्थापना भएको हिमालयन राइडर्स सोसाइटीले स्थानीय सरकारसँगको सहकार्यमा विविध जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले बताउनुभयो । धार्मिक, सामाजिक तथा पर्यटकीय उद्देश्यले कोरा यात्रा हेटौंडामा हरेक वर्ष आयोजना गर्दै आएको उहाँको भनाइ छ ।