श्याम कुमार बानियाँलाई बासुदेव भानु स्मृति सम्मान गरिँदैको तस्वीर ।

हेटौंडाः २९२ औँ भानु जयन्तीको अवसरमा गीतकार एवम् कवि श्यामकुमार बानियाँलाई सम्मान गरिएको छ । आइतबार मकवानपुरगढी–३, मक्राञ्चुलीस्थित भानु माविमा भएको कार्यक्रममा बासुदेव भानु स्मृति साहित्य सम्मान २०८२ बाट बानियाँलाई सम्मान गरिएको भानु माविका सहायक प्रधानाध्यापक शिवराम फुयालले जानकारी दिनुभयो ।

बानियाँलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयले भानुभक्तका विषयमा कविता वाचन कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा १३ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

कविता वाचनमा उत्कृष्ट भएका अनुश्री अधिकारी, रोजिना घोरासैनी र आरोही पौडेललाई नगद २ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सान्त्वना हुने स्वरा सापकोटाले नगद एक हजार रुपैयाँ प्राप्त गर्नुभएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईंको सभाध्यक्षता तथा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, शिक्षक, विद्यार्थी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।