Home मुख्य समाचार हेटौँडा उपमहानगरको बजेट पारित, वडाध्यक्षकै असन्तुष्टी, बजेटको मस्यौदा किताब तयार

हेटौँडा उपमहानगरको बजेट पारित, वडाध्यक्षकै असन्तुष्टी, बजेटको मस्यौदा किताब तयार

हेटौँडा उपहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मस्यौदा किताबको बाहिरी पृष्ठ ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि आव्हान गरिएको नगरसभा ढिलो गरी सुरु भएर करिब १ घण्टामा बजेट पारित गरेर सम्पन्न भएको थियो । असार १० गते सम्पन्न नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट शुक्रबारको नगरसभाले पारित गरेको हो । शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको नगरसभा बिहान ११ बजेपछि मात्रै सुरु भएको थियो ।

करिब १ घण्टा सञ्चालन भएको नगरसभाले शुक्रबार २ अर्ब ९० करोडको बजेट पारित गरेको हो । नगरसभाबाट बजेट पारित हुँदै गर्दा र पारित भएपछि वडाध्यक्षहरुले नै असन्तुष्टी व्यक्त गरेका छन् । बिहान ८ बजेका लागि बोलाइएको नगरसभा सुरु नभएपछि १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइराला ११ बजेपछि सुरु भएको नगरसभामा सहभागी हुनु भएन । निर्धारित समयमा नगरसभा सुरु हुन नसकेपछि नगरसभामा सहभागी नभएको वडाध्यक्ष कोइरालाको भनाइ छ । नगरसभाको सदस्यहरुले बजेट किताब तयार पार्नुपर्ने भन्दै असार १० गतेको नगरसभामा चर्को माग राखेपछि शुक्रबारको नगरसभामा बजेटको मस्यौदा किताब भने वितरण गरिएको थियो । बजेट तथा कार्यक्रम कम्प्युटर प्रणालीमा दर्ता गर्नुपर्ने भएकोले कम्प्युटर प्रणालीमा समावेश गरेर मात्रै बजेट किताबको अन्तिमरुप तयार पारिने बताइएको छ ।

नगरसभाको तयारीका क्रममा नगर कार्यपालिकाको बैठकमा २ अर्ब ५७ करोडको बजेट तयार पार्ने सहमति भए पनि असार १० गतेको नगरसभामा २ अर्ब ९० करोडको बजेट प्रस्तुत भएको वडाध्यक्षको भनाइ छ । शुक्रबारको नगरसभाले बजेट पारित गरेपछि हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले बजेटमाथि असन्तुष्टी जनाउँदै शुक्रबार ‘हेटौँडा उपमहानगरपालिकाको बजेट, माछा–माछा भ्यागुतो, कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेर लेख्नुभएको छ । हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले बजेट लक्षित गरी नगरप्रमुख, उपप्रमुखले मसिना कार्यक्रम तयार पारिएको बताउनुभयो । नगरस्तरीय कार्यक्रम १ देखि २ लाखसम्मका भएको उहाँको गुनासो छ ।

आगामी आर्थिक वर्षका लागि हेटौँडा उपमहानगरले वडाको सिलिङमा ३२ करोड २५ लाख रुपैयाँ, नगरस्तरीय विविध पूर्वाधार विकास÷मर्मत सुधार लगायतका कार्यक्रम तथा आयोजनाका लागि २६ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरले आर्थिक विकासतर्फ ४ करोड ६९ लाख रुपैयाँ, सामाजिक विकासतर्फ १६ करोड ८३ लाख रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ आर्थिक वर्ष २०८१/८२ को दायित्व भुक्तानीका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरका अधिकारीले भने आर्थिक वर्ष २०८१/८२ को दायित्व ४० करोड पुग्न सक्ने बताउँदै आएका छन् ।

Exit mobile version