मंगलबार विहान अचानक आएको बाढीले रसुवा जिल्लाको नेपाल चीन सीमामा रहेको रसुवागढी क्षेत्रमा ठूलो क्षति पुगेको छ । नेपाल चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा अप्रत्यासित रुपमा आएको बाढीले रसुवागढी नाकास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवागढी भन्सारको सुख्खा बन्दरगाह (ड्राइपोर्ट) क्षेत्रमा पनि बाढीले धेरै क्षति पुर्याएको छ । मंगलबार बिहान ३ बजेतिर भोटेकोशी (त्रिशुली)मा अचानक आएको बाढीमा परी २० जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । बेपत्तामध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, ट्रक चालक ५ जना र चिनियाँ नागरिक ६ जना रहेका छन् । बेपत्ता भएका केहीको शव त्रिशुली नदीका विभिन्न क्षेत्रमा भेटिएको छ ।
बाढीबाट २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् । बाढीले विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुर्याएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको हेडवक्र्स पूर्णरुपमा क्षति भएको छ । २१ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने ६० मेगावाटको त्रिशुली–३ ए जलविद्युत् आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ । त्रिशुली–३ बी हब सबस्टेशनमा खोलाले धार परिवर्तन गरी सबस्टेशनभित्र छिरेको र १३२ केभीको प्रसारण लाइनको संरचनामा क्षति पुगेको छ । त्रिशुली करिडोरको आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ । बाढीले सडक तथा विभिन्न पुलमा समेत क्षति पुगेको छ ।
भोटेकोशी नदीको जलाधार क्षेत्रमा पानी नपरेको अवस्थामा अचानक ठूलो बाढी आउँदा त्यसले अकल्पनीय क्षति पुग्यो । रातको समयमा बाढी आएका कारण जनधनको क्षति बढी हुन गएको भए पनि उक्त बाढीले धेरै कुराको संकेत गरेको मान्न सकिन्छ । नेपालको भौगोलिक अवस्था, यहाँका नदीहरुको उत्पत्ति क्षेत्र र बहावका आधारमा बाढीको जोखिम उच्च रहेको छ । अधिकांश ठूला नदीहरुको उद्गमस्थल हिमाल हुनु, त्यस क्षेत्रमा थुप्रै हिमताल रहनु, अग्ला पहाडको खोँचबाट नदी बग्दा पहिरोले नदी थुनिनुजस्ता कारण नदीहरुमा अचानक बाढी आउने गर्दछ । समयसमयमा यस्ता प्रकोप भोग्दै आए पनि त्यसबाट पाठ सिक्न सकेको देखिँदैन । बाढी पहिरोको उच्च जोखिम हुँदा पनि क्षति न्यूनीकरणमा प्रभावकारी काम हुन सकेको छैन ।
भोटेकोशीको बाढीले पु¥याएको क्षतिलाई सामान्य मान्न सकिँदैन । बाढीग्रस्त क्षेत्रको प्रधानमन्त्री तथा मन्त्रीहरुले मंगलबारै अवलोकन गरेका छन् । उच्च सरकारी तहबाट यस्ता घटनामा क्षणिक चासो र चिन्ता व्यक्त गर्नेबाहेक उल्लेख्य काम हुन नसक्नु विडम्बना बन्दै आएको छ । हरेक वर्ष वर्षाको समयमा बाढी, पहिरो, डुबान र कटानका घटनाबाट व्यापक क्षति हुने गरेको छ । देशका विभिन्न क्षेत्रमा भएका यस्ता घटनाबाट सिक्नुपर्ने पाठ र गर्नुपर्ने कामप्रति भने सबै उदासिन बनिरहेका छन् । देशभर नदी किनारमा रहेका बजार, सडक, विद्युत् आयोजना, पुललगायत भौतिक संरचना र त्यहाँ बसोबास गर्ने मानिस उधैं उच्च जोखिममा छन् । संरचना निर्माण गर्दा सम्भावित जोखिमको अनुमान गरेर सुरक्षित नबनाउने हो भने अन्यत्र पनि यस्तो जोखिम हुनसक्नेतर्फ सचेत बन्नु आवश्यक छ । सम्भावित प्राकृतिक प्रकोप रोकथाम तथा न्यूनीकरण, जोखिमको पूर्वानुमान, जोखिमबाट बच्ने र बचाउने पूर्वतयारी एवम् जोखिमपछिको उद्दार र राहतका लागि सरकार गम्भीर बन्नुपर्छ ।











