एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिँदै ।

हेटौँडा : हेटौैँडा–२ स्थित सिद्धार्थ माविबाट २०८१ सालको एसईईमा उत्तीर्ण भएका विद्यार्थीलाई विद्यालय र २ नम्बर वडा कार्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त रुपमा वडा कार्यालय र विद्यालयले विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयलका प्रध्यानाध्यापक परमानन्द सरोज कर्णले बताउनुभयो ।

जीपीए ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद ५ हजारसहित प्रशंसापत्र र खादाले सम्मान गरिएको थियो । त्यसैगरी जीपीए ३.२१ देखि ३.६ जीपीए ल्याउने र विषयगत परीक्षामा २.६१ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । विद्यालयमा २०८१ को एसईईमा सहभागी १ सय ४० जना विद्यार्थीमध्ये ९४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रधानाध्यापक परमानन्द सरोज कर्णको सभाध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष महर्जनले २ नम्बर वडामा एक मात्र सामुदायिक विद्यालय रहेकोले यस वर्षको नतिजाले खुशी तुल्याएको र मिहिनेत गर्ने विद्यार्थी र शिक्षकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले २०८२ को एसईईमा उत्तीर्ण संख्या बढाउने कुरामा आफू आशावादी रहेको बताउनुभयो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जिल्लाकै उत्कृष्ट मानिएको विद्यालयको नतिजाले सबैलाई खुशी तुल्याएको बताउनुभयो । उहाँले शिक्षक र विद्यार्थीको सहकार्यले नतिजा सम्भव रहेको बताउनुभयो । कार्यक्रममा वडासदस्य सुरज बर्तौला, इन्द्र रिजाल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बलराम घिमिरे, सदस्य पिताम्बर बास्तोला, सिद्धार्थ ल क्याम्पसका सहायक क्याम्पस प्रमुख राजु गौतमको पनि आतिथ्य रहेको थियो ।