सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको नुवाकोट, चितवन र धादिङ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नुवाकोटको बिदुर नगरपालिका–१, ढुङ्गेमा मोटरसाइकल र इभि गाडि एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेर ४० मिनेटको समयमा गल्छि–त्रिशुली सडक खण्डमा बिदुरबाट त्रिशुलीतर्फ जाँदै गरेको बा ९३ प १८४ नम्बरको मोटरसाइकल र त्रिशुलीबाट बट्टारतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०१३८ नम्बरको इभि गाडि एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० वर्षीय सोहन श्रेष्ठको त्रिशुली अस्पताल नुवाकोटमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा सोहनलाई दिउँसो ३ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२, काफलटारमा सिलिन्डर पड्किएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत आइतबार बेलुका ७ बजेको समयमा सिलिन्डर पड्किएर घाइते भएकी २६ वर्षीया अस्मिता तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अस्मिता आफ्नै घरमा खाना बनाउने क्रममा ग्यास सिलिन्डर पड्कििँदा मध्यम घाइते भएकि थिइन् । घाइते अस्मिताको उपचारको क्रममा शनिबार दिउँसो १ बजेर ४० मिनेटको समयमा काठमाडौंस्थित कृतिपुर अस्पताल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–९, शरदपुरमा सेफ्टी ट्याङकी भित्र खसेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरदकृष्ण टोलकी ६४ वर्षीया राधिका बिक रहेको प्रहरीले जानकारी दिएको छ । राधिका शनिबार साँझ ६ बजेर ५५ मिनेटको समयमा आफ्नो घर नजिकै रहेको सेफ्टी ट्याङकीको ढकनी फुटी सेफ्टी ट्याङकी भित्र गम्भिर अवस्थामा फेला परेकी थिइन् । राधिकालाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा राती ८ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१०, त्रिनेत्र पेट्रोल पम्प अगाडि ट्रकले ठक्कर दिँदा घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ । बुधबार राती ११ बजेर १५ मिनेटको समयमा पूर्व पश्चिम सडक खण्डमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना ६ ख ३२७४ नम्बरको खाली ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको प्र ३–०३–००१ प ६३३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडी सवार दुवै गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक रत्ननगर नगरपालिका–९ बस्ने ३ वर्षीय सन्जित दराई र पछाडी सवार १८ वर्षीय क्षितिज पन्जियार घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा चालक सन्जितको शनिबार बेलुका ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका–११, बस्ने ३८ वर्षीय सुक बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।