हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयले वडा भित्र सामूहिक जमघट हुने सम्पूर्ण कार्यक्रम गर्नमा रोक लगाएको छ । वडा कार्यालयको आयोजनामा शनिबार बसेको बैठकले समुदायस्तरमा कोरोनाको प्रकोप बढ्दै गएपछि वडा कार्यालयले यसको नियन्त्रणका लागि वडा क्षेत्र भित्र कुनै पनि किसिमको भेला, बैठक, खेलकुद, जुम्मा, सांस्कृतिक कार्यक्रम (विवाह, ब्रतबन्ध, पास्नी) आदि गर्नमा रोक लगाएको हो ।

कार्यालयले वडा भित्र रहेका सम्पूर्ण होटल तथा रेस्टुरेन्ट, सैलुन, व्युटीपार्लर लगायतका व्यवसायहरु हालका लागि बन्द गर्नेे, खाद्यान्न, तरकारी, फलफुल तथा औषधि पसललाई भौतिक दूरी कायम गरेर सहजताका साथ सामग्री उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ । साथै बैठकले मानवसेवा आश्रम, मठ मन्दिर, गुम्बालगायतका स्थानमा मानिसहरुलाई आवतआवत नगर्न समेत आग्रह गरेको छ । बैठकले समुदायस्तरमा जनचेतना अभिबृद्धिका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, सेनिटाईजरको प्रयोग गर्न वा साबुन पानीले बारम्बार हात धुन, भीडभाड भएको ठाउँमा नजान, भौतिक दूरी कायम गर्न आइतबारदेखि वडामा नियमित रुपमा माइकिङ गर्ने निर्णय समेत गरेको वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

बैठकले जनचेतनासँगै उल्लेखित विषयहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्न सम्पूर्णमा आग्रह गरेको छ । निगरानी, अनुगमन तथा सहजीकरणका लागि वडा अध्यक्ष भण्डारीकै संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा ९ नम्बर वडा कार्यालयका २ जना सदस्य, टोल विकास वडा समन्वय समितिका अध्यक्ष एवम् ईलाका प्रहरी कार्यालय पशुपति नगरका प्रतिनिधि रहेको समेत रहेका छन् । बैठकमा वडाका राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।