हेटौँडा : बागमती प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि रकम निकासा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ३ करोड १ लाख रुपैयाँ रकम निकासा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार भरतपुर महानगरपालिकासँगको लागत साझेदारीमा निर्माण भइरहेको सो भवनका लागि चालु आर्थिक वर्षमा खर्च गर्ने गरी रकम निकासा दिने निर्णय भएको हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि लागत साझेदारीमा ८ करोड रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने गरी निर्णय भएको उहाँले बताउनुभयो ।
मन्त्री लामिछानेका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने स्वीकृति प्रदान गरेको छ । बैठकले साविकको स्थानबाट वडा नम्बर–४ मा सार्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो । लिखु गाउँपालिकाका दुई तिहाई जनप्रतिनिधिको हस्तारक्षर सहितको प्रस्तावमा केन्द्र सार्न स्वीकृति दिएको उहाँले जानकारी दिनुभयो । साविकको स्थानमा जग्गा नभएकाले गाउँपालिकाको प्रशासनिक कार्य संचालनमा समेत बाधा पुगेकाले वडा नम्बर–४ मा जग्गा प्राप्ती समेत गरेर केन्द्र सार्न प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको वैदेशिक भ्रमण समेत स्वीकृत गरेको छ । सचिव अधिकारी आगामी असार ३१ गतेदेखि साउन ५ गतेसम्म भियतनाममा हुने कार्यक्रममा सहभागी हुन जानुहुने कार्यक्रम रहेको छ ।











