हेटौँडा : हेटौँडा–२ स्थित सुष्मा ब्यूटि एकेडेमी एण्ड मेकअप स्टुडियोले आफ्नो १५ औँ वर्षगाँठ मनाएको छ । बिहीबार बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री तामाङले महिलाहरुलाई उत्पादनमा जोड दिन आग्रह गर्नु भएको छ । मन्त्री तामाङले महिलालाई समाजमा धेरै आरोह–अवरोह हुने गरेको बताउनुहुँदै एकेडेमी यहाँसम्म ल्याउन सक्नु तारिफयोग्य रहेको बताउनुभयो । उद्योग दर्ता गर्न चाहनेहरुका लागि उद्योग दर्ता गर्न ७५ प्रतिशत छुट भएको उहाँको भनाइ छ । यस्तै उत्पादनमा आधारित उद्योग दर्ता गराउँदा ५० प्रतिशत विजुली महसुलको छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

एकेडेमीले सुरुवाती चरणबाट नै धेरै विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै आएको छ । ब्यूटि पार्लर सिक्न चाहनेहरुलाई प्रशिक्षण गराउनुका साथै नगरपालिकाले आयोजना गर्ने पार्लर सम्बन्धी तालिम एकेडेमीकी संचालक सुष्मा राना मगर आफैले प्रशिक्षण गराउँदै आउनुभएको छ । कार्यक्रममा एकेडेमीबाट प्रशिक्षण सहभागी भएका प्रशिक्षार्थी, विभिन्न पार्लर, ब्यूटि एकेडेमी संचालन गरेका संचालक महिलाहरुको सहभागिता रहेको थियो ।