हेटौँडा : मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९० करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख भरत गोपालीले सोमबार नगरसभामा बजेट प्रस्तुत गर्नुहुँदै नगरको विकास अवधारणालाई सन्तुलित, समावेशी र दिगो बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सूचना प्रविधिलाई प्रमुख प्राथमिकता दिइएको छ । कुल बजेटमध्ये ४० प्रतिशत पूँजीगत खर्चका लागि र ६० प्रतिशत चालु खर्चका लागि विनियोजन गरिएको छ । राजस्व स्रोतमा संघीय सरकारबाट ५८ करोड ४३ लाख, प्रदेश सरकारबाट १३ करोड ६ लाख, आन्तरिक स्रोतबाट १६ करोड ८० लाख रुपैयाँ संकलन गरिने योजना प्रस्तुत गरिएको छ । उपप्रमुख गोपालीका अनुसार, स्थानीय पूर्वाधार विकासलाई नगरको मेरुदण्ड मानी करिब २२ करोड रुपैयाँ सडक, ढल, नाला, पुल र खानेपानी योजनामा खर्च गरिनेछ ।
शिक्षा क्षेत्रको विकासमा विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा सञ्चालन, विद्यालय पोषण कार्यक्रम, तथा बालमैत्री वातावरण निर्माणका कार्यक्रम समावेश छन् । विशेष आवश्यकता भएका बालबालिकालाई लक्षित गरी पहुँच सुनिश्चित गर्ने कार्यक्रम पनि बजेटमा अटाइएको छ । स्वास्थ्य क्षेत्रमा, हरेक वडामा एक–एक जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने र सबै स्वास्थ्य संस्थाहरूमा डिजिटल डाटाबेस प्रणाली लागू गरिने योजना रहेको छ । साथै, मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने नीति समेत बजेटमा समावेश गरिएको छ ।
बजेटले रोजगारी सृजनामा ‘एक घर, एक उद्यम’ कार्यक्रम लागू गर्दै कम्तीमा ५० युवालाई स्वरोजगारको अवसर दिने लक्ष्य लिएको छ । स्वरोजगारमूलक अनुदान, तालिम तथा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम नगरले प्राथमिकतामा राखेको हो । थाहा नगरपालिकाले यो वर्षबाट डिजिटल रूपान्तरणलाई विशेष प्राथमिकता दिएको छ । सबै वडा कार्यालयमा इ–गभर्नेन्स प्रणाली लागू गरिने, नागरिक सेवा सहज बनाउन ‘थाहा मोबाइल एप’ पुनर्संरचना गरिने, सेवाको पारदर्शिता, पहुँच र प्रभावकारिता सुनिश्चित गर्न योजना कार्यान्वयनमा अनुगमन र मूल्याङ्कन प्रणाली सुदृढ बनाइने उपप्रमुख गोपालीले जानकारी दिनुभयो ।











