हेटौँडा : बागमती प्रदेशसभा संचालनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले थाल्नुभएको आन्तरिक कसरतमा लागेका छन् । सोमबारबाटै मुख्यमन्त्री लामाले प्रदेशसभा संचालनका लागि सत्ता साझेदार दल र विभागीय मन्त्रीहरुसँग छलफल थालेका थिए । मंगलबार र बुधबार दिनभर सत्तारुढ दल एमालेसँग छलफल गर्नुभएका मुख्यमन्त्री लामाले दिनभर कांग्रेस र एमालेका मन्त्री तथा शीर्षस्त प्रदेशसभा सदस्यहरुसँग छलफल गर्नुभएको थियो ।
मुख्यमन्त्री लामाको सचिवालयका अनुसार ‘एमालेको तर्फबाट केही मागहरु आएका छन् । त्यसलाई सम्बोधन गर्ने विषयमा छलफल भइरहेको छ । उहाँहरुले बजेटमा छुटेका योजनाहरु समेट्ने विषयसहित अन्य केही माग गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘हामीले आफ्ना विषयहरु पनि राखेका छौं । सत्तारुढ दलको समस्याहरु समाधान गर्नेगरी पहल भइरहेको छ । बजेटको सीमा परिवर्तन नहुने गरी एमालेको माग अनुसारको योजना समेट्ने प्रयास भएको छ । दोहोरिएको, असान्दर्भिक प्रकृतिका योजना कटाएर माग भए अनुसारको योजना हाल्ने तयारी भएको छ ।’
मुख्यमन्त्री लामाले बुधबार पनि सत्तारुढ दलका नेताहरुसँग छलफल गर्नुभएको थियो भने सभामुख भुवनकुमार पाठकसँग परामर्श गर्नुभएको थियो । सोही अनुसार बुधबार साँझ मुख्यमन्त्री लामाले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न लगाउनुभएको थियो । सभामुख पाठकको अध्यक्षतामा बसेको बैठकले असार २४ गतेसम्म प्रदेशसभा संचालनको कार्यसूचि तयार गरेको छ ।
राप्रपा र माओवादी केन्द्रको एक/एक जना प्रदेशसभा सदस्य उपस्थित कार्यव्यवस्था समितिले असार २४ गते बजेट पारित गर्ने कार्यसूचि तयार गरेको सभामुख पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार (असार १९ गते) बाट निरन्तर प्रदेशसभा चलाएर असार २४ गतेसम्म बजेट माथिको छलफल सकेर पारित गर्ने र प्रदेशसभामा दर्ता भएको संकल्प प्रस्ताव समेत अघि बढाउने सहमति बनेको छ ।
यही असार १२ गतेबाट प्रदेश सरकारको बजेट माथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक सत्तारुढ दल बीच नै सहमति जुट्न नसक्दा अनिश्चित बन्दै गएको छ । उक्त अवस्थाको निकास निकाल्न मुख्यमन्त्री लामाले साझेदार दल एमालेका संसदीय दलका नेतासँग मंगलबार र बुधबार छलफल गर्नुभएको छ । उक्त बैठकपछि एमाले र कांग्रेसका मन्त्रीहरुसँग छलफल गर्नुभएका मुख्यमन्त्री लामाले सभामुख पाठक मार्फत् सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएको सभामुख पाठकले जानकारी दिनभयो । सर्वदलीय बैठकले बजेट माथिका विवादका विषयहरुलाई टुंगोमा पुर्याउने उहाँले बताउनुभयो । उक्त बैठकको निचोड अनुसार प्रदेशसभा बैठक संचालन तथा बजेट माथिको छलफल अघि बढाउने सरकारको तयारी रहेको छ ।











