हेटौँडा : धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका–६, गोलाङटारमा क्रेन दुर्घटना हुँदा घाइते भएका काठमाडांै महानगरपालिका–६ का ४० वर्षीय जयराज तिमिल्सिनाको उपचारको क्रममा मृत्यु भएको छ । असार ९ गते साँझ ५ बजेको समयमा गोलाङटारस्थित सल्यानटारदेखि त्रिपुरासुन्दरी जाने भित्रि सडक खण्डमा गोलाङबाट धादिङबेशीतर्फ जाँदै गरेको बा २ ख ६४९० नम्बरको क्रेन आफैं अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा क्रेन चालक मकवानपुरको थाहा नगरपालिका–६ का ३३ वर्षीय राजु बिडारी, क्रेनमा सवार पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१५ का १८ वर्षीय रियाज खान, २० वर्षीय ओमराज राम र जयराज घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पतालमा धादिङबेशी लगिएको थियो । ओमराज, राजु र रियाज सामान्य उपचार पश्चात सोहिदिन डिस्चार्ज भएका थिए भने घाइते जयराजलाई थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो । उपचारको क्रममा जयराजको बुधबार बिहान ३ बजेर ४० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











