हेटौँडा : बागमती प्रदेश सरकारको कुल बजेटको ११ प्रतिशत बढी रकम काठमाडौं जिल्लामा परेको छ । कुल विनियोजनको पुँजीगत तर्फको ११.९ प्रतिशत बजेट काठमाडौंमा परेको छ ।
बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय र केही महत्वपूर्ण आयोजना अन्तर्गतका विकास बजेटमा काठमाडौंले ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजन गरेको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते सार्वजनिक गरेको ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार रुपैयाँको बजेटमा पुँजीगततर्फ ४१ अर्ब ४३ करोड रुपैयाँ (६१ प्रतिशत) विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विवरण अनुसार यो बजेटले पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उच्च प्राथमिकता दिएको छ ।
प्रदेश सरकारको कुल बजेटमध्ये ११.९ प्रतिशत (३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैयाँ) काठमाडौंमा विनियोजन गरिएको छ भने दोस्रोमा मकवानपुरका लागि १०.६ प्रतिशत (३ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ) बजेट विनियोजन गरिएको छ । तेस्रो स्थानमा काभ्रे र नुवाकोटले १०/१० प्रतिशत बजेट पाएको छ । काभ्रे र नुवाकोटमा (३ अर्ब ३० करोड २५ लाख ७० हजार रुपैयाँ) बजेट विनियोजन भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाको गृहजिल्लामा पनि १० प्रतिशत बजेट विनियोजन गरिएको छ । नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रुपैयाँ बजेट प्राप्त गरेको हो ।
सिन्धुपाल्चोकमा ८.४ प्रतिशत (२ अर्ब ७९ करोड ९५ लाख ४० हजार रुपैयाँ) बजेट विनियोजन हुँदा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको गृहजिल्ला दोलखा ८.३ प्रतिशत (२ अर्ब ७४ करोड ९९ लाख ५० हजार रुपैयाँ) बजेट विनियोजन भएको छ । चितवनमा ७.५ प्रतिशत (२ अर्ब ४८ करोड ५८ लाख ४० हजार रुपैयाँ), सिन्धुलीमा ६.८ प्रतिशत (२ अर्ब २५ करोड ९६ लाख ८० हजार रुपैयाँ), ललितपुरमा ६.७ प्रतिशत (२ अर्ब २२ करोड ५४ लाख रुपैयाँ), रामेछापमा ६.१ प्रतिशत (२ अर्ब ३ करोड ११ लाख ४० हजार रुपैयाँ), धादिङमा ६.१ प्रतिशत (२ अर्ब १ करोड ४० लाख ५० हजार रुपैयाँ), भक्तपुरमा ४.८ प्रतिशत (१ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ) र रसुवामा २.८ प्रतिशत (९२ करोड ५२ लाख ९० हजार रुपैयाँ) बजेट विनियोजन गरिएको छ ।











