एसईईमा उत्कृष्ट नतीजा ल्याउन विद्यार्थीलाई सहयोग गर्ने शिक्षकलाई सम्मान गर्दै ।

हेटौँडा: हेटौँडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालयले शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार एक समारोहका बीच विद्यालयले एसईईमा उत्कृष्ट नतीजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । विद्यालयले परीक्षामा ३.६ भन्दा माथि जिपिए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ त्यसैगरी ३.२ भन्दा माथि जिपपिए प्राप्त गर्ने ३४ जनालाई जनही ३ हजार नगदसहित सम्मान गरेको हो ।

यसैगरी नतिजामा सफल हुने सबै विद्यार्थीलाई विद्यालयले सम्मानपत्र प्रदान गरेको छ । यता विषयगत रुपमा ए प्लस ल्याउन सफल गराउने शिक्षक तथा माध्यम एवम् संकायगत रुपमा उच्च औषत जिपीए ल्याउने र विषयगत रुपमा शत्प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षकलाई पनि दोसल्ला ओढाएर सम्मान गरेको छ । यस्तै सोमबार बृहत शैक्षिक प्रदर्शनी पनि सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका गणित, विज्ञान, सामाजिक तथा नेपाली विषय लगायतका विभिन्न शैक्षिक सामग्री प्रदर्शन गरिएको हो । प्रदर्शनीबाट विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सीपको समेत विकास हुने अपेक्षा रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताउनुभयो ।

प्रदर्शनीबाट छिमेकी अन्य विद्यालयका विद्यार्थीले समेत लाभ लिएको आयोजक विद्यालयको दावी रहेको छ । आयोजक विद्यालयसहित छिमेकी विद्यालय बालबोध मावि, ज्योति मावि र राजदेवी माविका गरी करिव २ हजार ५ सय विद्यार्थीले शैक्षिक प्रदर्शनी अवलोकन गरेका थिए । मैत्रीपूर्ण अवलोकन पश्चात ज्योति मावि हर्नामाडीका शिक्षक पूर्णचन्द्र काफ्लेले विद्यार्थीमा वैज्ञानिक सोच र नवीनतम चिन्तन विकासमा यसले टेवा पुग्ने बताउनुभयो । राजदेवी माविका शिक्षक प्रमोद दाहालले भने यो प्रदर्शनी शिक्षाका क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रहेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

यसैबीच जनप्रिय माविले सोमबार नै ३ वटा विधाका छुट्टा–छुट्टै भित्तेपत्रिका समेत विमोचन गरेको छ । अंग्रेजी, नेपाली तथा बालिविज्ञान माध्यमका भित्ते पत्रिका विमोचन गरेको हो । बालबालिकाको सृजनात्मक क्षमता र पठन संस्कृतिको विकास गर्न जनप्रियले विगतदेखि नै त्रैमासिक रुपमा भित्तेपत्रिका प्रकाशन गर्दै आएको छ । शैक्षिक वर्ष २०८२ का लागि भने यो पहिलो अंक रहेको रिडर्स क्लबका संयोजक संप्रस पौडेलले जानकारी दिनुभयो । जनप्रियमा जनप्रिय मिडिया क्लब एवम् रिडर्स क्लबको संयुक्त संयोजनमा भित्तेपत्रिका प्रकाशन हुँदैआएको छ ।

हेटौँडा–१६ का अध्यक्ष एवम् हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वस्ताकोटीले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विव्यस प्रतिनिधि, शिक्षक अभिभावक संघ प्रतिनिधि एवम् अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोईरालाले एसईईमा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।